‘अब अति भयो’ भन्दै ओबामा ट्रम्पविरुद्ध मैदानमा, महँगी र इरान युद्धमाथि प्रहार

‘अब अति भयो’ भन्दै ओबामा ट्रम्पविरुद्ध मैदानमा, महँगी र इरान युद्धमाथि प्रहार


काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले मध्यावधि निर्वाचनअघि डेमोक्र्याटिक पार्टीका उम्मेदवारहरूको पक्षमा चुनावी प्रचार गर्दै इरान युद्ध र उपभोक्ताले तिर्नुपरेको चर्को मूल्यलाई लिएर ट्रम्प प्रशासनको आलोचना गरेका छन् ।

शनिबार ओहायोमा आयोजित सभामा ओबामाले भने, “यो निर्वाचन कम्तीमा पनि यस प्रशासनका केही मूर्खतापूर्ण गतिविधिलाई नियन्त्रण गर्ने हाम्रो अन्तिम र सबैभन्दा राम्रो अवसर हो ।”

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियामा आयोजित चुनावी सभामा आफ्नो प्रशासनको आप्रवासन र भन्सार महसुलसम्बन्धी नीतिको प्रशंसा गर्दै समर्थकहरूलाई भने, “हामी अमेरिकाको स्वर्णिम युगमा छौँ ।”

नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनले ट्रम्पको कार्यकालको बाँकी अवधिका लागि अमेरिकी संसद् (कंग्रेस) मा कुन पार्टीको नियन्त्रण रहने भन्ने निर्णय गर्नेछ । त्यसले राष्ट्रपतिलाई आफ्ना योजना कार्यान्वयन गर्न कति सहज हुन्छ भन्ने पनि निर्धारण गर्नेछ ।

निर्वाचनका लागि प्रारम्भिक मतदान सुरु भइसकेको छ । ट्रम्पले शनिबार फ्लोरिडामा आफ्नी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्पसँगै मतदान गरे ।

शनिबार ओहायो र मिसिगनमा बोल्दै ओबामाले ट्रम्प र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई निशाना बनाए । एक प्रसङ्गमा उनले ह्वाइट हाउसको सजावट परिवर्तन गर्ने राष्ट्रपतिको प्रयासको समेत मजाक उडाए ।

क्लिभल्यान्डमा आयोजित सभामा पूर्वराष्ट्रपति ओबामाले भने, “आधुनिक युगमा विरलै देखिएको दुई वर्षको अराजकता, क्रूरता, भ्रष्टाचार र अक्षमतापछि अब तपाईंहरूले ‘अति भयो, अब पुग्यो’ भन्ने अवसर पाउनुभएको छ ।”

ओबामाले कोभिड महामारीपछि अर्थतन्त्र र महँगीको चिन्ताका कारण सन् २०२४ मा डेमोक्र्याटिक पार्टीलाई समर्थन नगरेका मतदाताप्रति आफू सहानुभूति राख्ने बताए । तर अहिले अर्थतन्त्रको अवस्था बिग्रनुमा ट्रम्प आफैँ जिम्मेवार रहेको उनको भनाइ थियो ।

ट्रम्पको नाम नलिई उनलाई सङ्केत गर्दै ओबामाले भने, “तपाईंहरूलाई ‘त्यो व्यक्ति’ आउनुअघि सबै कुरा महँगो लागेको थियो भने अहिले सबै कुरा झन् महँगो भएको छ ।”

यता ट्रम्पले पनि तेलको मूल्य अस्थायी रूपमा उच्च रहेको स्वीकार गरे । तर उनले भने, “हाम्रो देश दिनप्रतिदिन अझ बलियो हुँदै गइरहेको छ र पेट्रोल पम्पमा तिर्नुपर्ने मूल्य पनि घट्नेछ ।”

इरान र युक्रेनमा जारी युद्धका कारण इन्धनको मूल्य बढेपछि रिपब्लिकन राष्ट्रपति ट्रम्पमाथि इन्धनको मूल्य घटाउन ठूलो दबाब परेको छ ।

अर्थतन्त्रको प्रशंसा गर्दै ट्रम्पले पेरीमा आयोजित सभामा भने, “हामी भन्सार महसुलबाट ठूलो मात्रामा पैसा सङ्कलन गरिरहेका छौँ ।”

रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेमा प्रत्येक अमेरिकी वयस्क नागरिकलाई ५ हजार अमेरिकी डलर (३ हजार ७०० बेलायती पाउन्ड) दिने आफ्नो प्रतिबद्धता पनि उनले दोहोर्‍याए ।

ट्रम्पले डेमोक्र्याटिक पार्टीमाथि पनि प्रहार गरे । उनले डेमोक्र्याटहरूले जनताको सम्पत्ति लुट्ने र देशका सीमाहरू ध्वस्त पार्ने आरोप लगाए ।

अपमानजनक भाषा प्रयोग गर्दै उनले डेमोक्र्याटहरूले लिबिया, यमन, हाइटी र सोमालियाबाट आप्रवासी ल्याउन खोजेको आरोप लगाए । उनले ती देशहरूलाई ‘आतङ्कवादले भरिएका’ देशका रूपमा चित्रण गरे ।

केही सिनेटरसँग भएको पुरानो भेट सम्झिँदै ट्रम्पले भने, “मैले भनेँ, ‘हामीले किन सधैँ यस्ता अत्यन्तै खराब देशहरूबाट मानिस ल्याउनुपर्छ ? किन नर्वे, स्विडेनजस्ता देशबाट मानिस ल्याउन सक्दैनौँ ? डेनमार्कबाट किन ल्याउन सक्दैनौँ ?’”

इरान युद्धलाई लिएर ओबामाको ट्रम्पमाथि आलोचना

ओहायोमा पूर्वराष्ट्रपति ओबामाले इरान युद्धलाई लिएर वर्तमान राष्ट्रपति ट्रम्पको आलोचना गरे । उनले डेमोक्र्याटिक पार्टीका समर्थकहरूलाई सम्बोधन गर्दै युद्धका कारण इरानले होर्मुज जलडमरूमध्यमा ‘भिटो शक्ति’ अर्थात् निर्णय रोक्न सक्ने प्रभाव प्राप्त गरेको बताए ।

इरान युद्धबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले त्यही दिन भनेका थिए, “मैले यो काम निकै प्रभावकारी रूपमा गरेको छु । अब मैले यसलाई अन्तिम रूप दिनुपर्ने हुन सक्छ, वा उनीहरूले सम्झौता गर्न सक्छन् । तर म निश्चित छैन । जे भए पनि, जित हाम्रो हुन्छ ।”

ह्वाइट हाउसले रुसको कब्जामा रहेको एउटा सहरमा युद्धविराम गराउन मेलानिया ट्रम्प सफल भएको घोषणा गरेपछि उनी युक्रेन भ्रमणमा जाने सम्भावनाबारे पनि ट्रम्पलाई सोधिएको थियो । त्यसको जवाफमा उनले भने, “हामी हेर्नेछौँ ।”

शनिबार दिउँसो आयोजित चुनावी सभामा ओबामाले ह्वाइट हाउसको पुनः सजावट गर्ने ट्रम्पको प्रयासमाथि पनि व्यङ्ग्य गरे ।

उनले ठट्टा गर्दै भने, “त्यहाँ यति धेरै सुन किन ? उनले ह्वाइट हाउसलाई यस्तो बनाएका छन्, मानौँ सद्दाम हुसेनले ‘चिजकेक फ्याक्ट्री’ रेस्टुरेन्ट खोलेका हुन् ।”

ओहायोमा आयोजित ओबामाको चुनावी सभा पूर्वसिनेटर शेरोड ब्राउनलाई समर्थन गर्न आयोजना गरिएको थियो । ब्राउन रिपब्लिकन सिनेटर जोन हस्टेडलाई पराजित गर्दै पुनः सिनेटमा पुग्ने प्रतिस्पर्धामा छन् ।

त्यस्तै, ओबामाले रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीविरुद्ध ओहायोको गभर्नर पदमा प्रतिस्पर्धा गरिरहेकी एमी एक्टनलाई पनि समर्थन गरेका छन् ।

सभामा बोल्दै ओबामाले रामास्वामीले गत साता सार्वजनिक गरेको चुनावी विज्ञापनको आलोचना गरे । उक्त विज्ञापनमा एक्टनसँग सम्बन्धविच्छेद गरेर अलग्गै बसेकी उनकी आमाले एक्टनलाई झुटो बोलेको आरोप लगाएकी थिइन् ।

तर उक्त विज्ञापनमा एक्टन बालिका हुँदा उनका सौतेनी पिताले बलात्कार गरेको आरोपमा मुद्दा खेपेको तथ्य उल्लेख गरिएको थिएन ।

ओबामाले भने, “पछिल्ला दिनहरूमा हामीले उनले चर्चामा आउनका लागि आफू कति तल झर्न सक्छन् र कुन सीमा पार गर्न सक्छन् भन्ने देखेका छौँ । उनले पछिल्लो पटक सार्वजनिक गरेको विज्ञापनबारे सोच्नुहोस् ।”

ओबामाभन्दा अघि चुनावी सभालाई सम्बोधन गर्दै एक्टनले पनि रामास्वामीले आफ्नो चुनावी अभियान कमजोर बन्दै गएपछि त्यसलाई जोगाउन ‘आफ्नो बाल्यकालको शोषण गर्ने बाटो रोजेको’ आरोप लगाइन् ।