फागुन १९ मा प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने

फागुन १९ मा प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने


रुपन्देही ।

लुम्बिनीमा फागुन अन्तिम साता हुन लागेको शिखर सम्मेलनका विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

काठमाडौँमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनबारे छलफल भएको मुख्यमन्त्री चौधरीले जनाएका छन् ।

‘प्रधानमन्त्रीसँग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको र शिखर सम्मेलनको विषयमा प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अवस्थाबारे जानकारी गराएको मुख्यमन्त्री चौधरीले जनाएका छन् ।

सो अवसरमा प्रधानमन्त्री लुम्बिनीको स्थायी राजधानी क्षेत्रमा आउने विषयमा समेत छलफल भएको छ। ‘प्रधानमन्त्रीले लुम्बिनी प्रदेशको सदनमा विशेष सम्बोधनको कुरा भएको छ, प्रधानमन्त्रीले फागुन १९ गते लुम्बिनी सदनलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ’ मुख्यमन्त्री चौधरीले भने ।

प्रदेश सरकार र सदनको आग्रहमा प्रधानमन्त्री १९ गते प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आउन लागेका हुन्। प्रधानमन्त्रीलाई भेट गर्न मुख्यमन्त्रीसहित सभामुख तुलाराम घर्तीमगर पनि साथमा गएका थिए। लुम्बिनीमा फागुन १८ गतेदेखि हिउँदे अधिवेशन सुरु हुँदै छ।

बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन २७ गतेदेखि आयोजना हुन लागेको अन्तर्राष्ट्रिय शिखर सम्मेलनका लागि एक दर्जन नोबेल पुरस्कार विजेतासहित धेरै देशबाट उच्च पदस्थ व्यक्तिहरू आउन लागेका छन् । प्रदेश सरकारले यो सम्मेलनलाई लगानी सम्मेलनका रूपमा अगाडि सारेको छ ।