काठमाडौँ। नेकपा (एमाले) का प्रचारप्रसार विभाग प्रमुख निरज आचार्यले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नेपालको राष्ट्रवादबारे दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। वाग्लेको उक्त भनाइको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि प्रश्न उठाउँदै आचार्यले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र हितको रक्षा नै राष्ट्रवादको मूल मर्म भएको स्पष्ट पारेका छन्।
हालै भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतविरोधी भावनासँग जोडिएको नेपालको राष्ट्रवादको पुरानो भाष्य अब समाप्त भइसकेकोू अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिको खण्डन गर्दै नेता आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, विश्वास र साझा हितका आधारमा मात्र अघि बढ्न सक्ने बताएका छन्।’भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने नाममा राष्ट्रिय हित र स्वाभिमानसँग सम्बन्धित प्रश्नलाई गौण बनाउनु कदापि उचित हुँदैन’ आचार्यले लेखेका छन्, ‘मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधार्ने नाममा सबै असहमतिलाई पन्छ्याएर ‘तुम शरणम्’ गर्ने धारणा दुवै अतिवादी सोच हुन्।’
नेपाल र भारतबीच व्यापार, पारवहन, ऊर्जा, लगानी तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले सीमा विवादलगायतका संवेदनशील द्विपक्षीय सरोकारका विषयमा नेपालले आफ्नो स्पष्ट अडान कायमै राख्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया