कार्यसम्पादनमा स्याङ्जाका पालिकामध्ये भीरकोट पहिलो

कार्यसम्पादनमा स्याङ्जाका पालिकामध्ये भीरकोट पहिलो


स्याङ्जा ।

आर्थिक वर्ष २०७९/०८० मा स्थानीय सरकारले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्लाका ११ पालिकामध्ये भीरकोट नगरपालिका जिल्लामा पहिलो भएको छ ।

कार्यसम्पादनलाई आधार बनाएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा भीरकोट पहिलो भएको हो ।

आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा भीरकोटले ४६ दशमलव २५ अंक प्राप्त गर्दैै जिल्लामै पहिलो भएको छ । ५ नगर र ६ गाउँपालिका रहेको स्याङ्जामा कालीगण्डकी गाउँपालिका ४३ दशमलव ०२ अंक प्राप्त गर्दै दोस्रो बन्न सफल भएको छ ।

मूल्यांकनमा ४२ दशमलव ३२ अंक प्राप्त गर्दै फेदीखोला गाउँपालिका तेस्रो भएको छ भने वालिङ नगरपालिकाले ४१ दशमलव ४९ अंक प्राप्त गरी चौथो भएको छ । ४१ दशमलव ३७ अंक प्राप्त गरेको गल्याङ नगरपालिका जिल्लामा पाँचौँ स्थानमा रहन सफल भएको आयोगले प्रकाशित गरेको प्रतिवेदनले देखाएको छ ।

आयोगले जारी गरेको प्रतिवेदनमा कार्यसम्पादनमा ३९ दशमलव ३३ अंक प्राप्त गरेको अर्जुनचौपारी गाउँपालिका छैटौँ स्थानमा छ भने बिरुवा गाउँपालिकाले ३७ दशमलव ४० अंक प्राप्त गर्दै जिल्लाका पालिकामध्ये सातौँ स्थानमा छ ।

जिल्ला सदरमुकामको नगरपालिका पुतलीबजार नगरपालिकाले ३५ दशमलव ४७ अंक प्राप्त गर्दै आठौँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । नवौँ स्थानमा परेको आँधीखोला गाउँपालिकाले भने ३३ दशमलव ९५ प्रतिशत कार्यसम्पादन गर्न सफल भएको देखिन्छ ।

१०औँ र ११औँ स्थानमा पर्दै कार्यसम्पादन गर्ने पालिकामा चापाकोट नगरपालिकाले २८ दशमलव ३२ र हरिनास गाउँपालिकाले २२ दशमलव ७३ अंक प्राप्त गर्न सफल भएका छन् ।

आयोगले १० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असारभित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए/नदिएको लगायत आधारमा मूल्यांकन गरेको देखिन्छ ।

स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहले बजेटको वार्षिक समीक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको जस्ता आधारमा अंक दिइएको आयोगले जनाएको छ ।

आन्तरिक राजस्व संकलनको अनुमानित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोगलगायत पक्षलाई हेरेर आयोगले मूल्यांकन गरेको बुझिन्छ ।

स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र स्थानीय स्तरका विकासे योजनाको आवधिक योजना तर्जुमा गरे/नगरेको पनि आयोगले मूल्यांकन गरेको छ । विद्यालय भर्ना बालबालिकाको संख्या, टिकाउ दर, सामुदायिक विद्यालयबाट एसइईमा प्राप्ते ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्या जस्ता १४ वटा सूचकमा आयोगले मूल्यांकन गरेको हो ।