दुर्गन्धित बन्दै छ लुम्बिनी, पर्यटनमै असर पर्नेमा चिन्ता

दुर्गन्धित बन्दै छ लुम्बिनी, पर्यटनमै असर पर्नेमा चिन्ता


लुम्बिनी ।

बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहोरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल तथा अन्तर्राष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी फालिएका फोहोरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न आउने परेको छ ।

सडे गलेका वस्तुमात्र नभई नसडेका र त्यही स्वरूपमा काम नलाग्ने अन्य वस्तुहरू जताततै अव्यवस्थित रूपमा फालिएकाले जनस्वास्थ्य, पर्यावरण र सौन्दर्यमा असर परेको छ । बुद्ध दर्शनका लागि लुम्बिनी पुगेका भारतीय पर्यटक सञ्जय कुमारले भने, ‘लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिरको पूर्वी बगैंचा र मुख्य प्रवेशद्वारमा फोहोरको दुर्गन्ध सहिसक्नु छैन ।’

लुम्बिनीलाई सफा र स्वच्छ राख्न स्थानीयसँगै लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, विश्व वन्यजन्तु कोष, युनेस्को, एडिबी र विश्व बैंकलगायतका संघसंस्था लामो समयदेखि कार्यरत रहे पनि फोहोरको व्यवस्थापन हुन सकेको छैन । नागरिक सहकार्य मञ्च लुम्बिनीका अध्यक्ष अब्दुल जुबेर भन्छन्, ‘त्यहाँ फोहोर संकलन, ढुवानी, विसर्जन र व्यवस्थापनका लागि विद्यमान प्रणाली नै अव्यवस्थित छ ।’

अहिले लुम्बिनीको प्रवेशद्वार तथा मुख्य बजार र बस्ती छेउमा जताततै फोहोर फ्याँकिएका छन् । फोहोर नपुरेकाले दुर्गन्ध फैलिएको छ । घरको फोहोर घरमै तह लगाउन सके फोहोरको सकस कम हुने पर्यटन व्यवसायी वीरेन्द्र मिश्र बताउँछन् । ‘वातावरणमैत्री विकासको जिम्मेवारी नागरिकको पनि हुन्छ,’ उनले भने, ‘नागरिक आफैँले फोहोर व्यवस्थापन गर्नुको विकल्प छैन ।’ वातावरणमैत्री ऐन, कानुन र नियमहरूले फोहोरमैलाको प्रभावकारी व्यवस्थापनमा स्थानीय जिम्मेवारीलाई जोड दिँदै आवश्यक पूर्वाधार निर्माण र सञ्चालन गर्न सामूहिक प्रयासमा जोड दिएको छ ।

सर्वसाधारणमा चेतनाको कमी र कमजोर कार्यान्वयनका कारण सोचे अनुसारको उद्देश्य हासिल हुन नसकेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय संजाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीको भनाइ छ । फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहोरको प्रभाव, पर्यावरण संरक्षण, र स्वच्छताको महत्व बुझाउनका लागि प्रशिक्षण र जागरूकता गराउन आवश्यक भएको अध्यक्ष कुर्मीको भनाइ छ ।

सामुदायिक संगठन, अनुसन्धानमूलक संघ-संस्थाहरू र सरकार समेत मिलेर सामुदायिक सहभागितामा फोहोरमैलाको प्रभावकारी व्यवस्थापन र उपयोगका लागि काम गरेमा त्यसले पर्यावरण, स्वास्थ्य र समृद्धिमा अभिवृद्धि गर्नपर्नेमा उनको जोड छ ।

फोहोर संकलनमा मात्रै केन्द्रित हुँदा लुम्बिनीमा फोहोरको विसर्जन चुनौतीपूर्ण बनेको बताउँछन्, वातावरणका जानकार डा.सतीश उपाध्याय । उनका अनुसार फोहोर संकलनमा बढी केन्द्रित हुने तर त्यसलाई राम्रोसँग तह लगाउनेबारे अध्ययन र नीतिगत निर्णय नहुँदा यसको समस्या लुम्बिनीमा मात्र होइन, नेपालभरि देखिएको छ ।

सहरको फोहोर तेलार नदी र सडक किनारको जङ्गलमा फाल्ने गरेकाले त्यसले पर्यावरणमा असर पारेको छ । ‘नदी र जङ्गलको बीचमा फोहोर फालेर समस्याको दिगो समाधान हुँदैन’ उनी भन्छन्, ‘जबसम्म उपभोक्तालाई फोहोरमा मोहोर छ भन्ने बुझाउन सकिँदैन, तबसम्म यो समस्या चुनौतीपूर्ण रहिरहन्छ ।’

समान्यतया घरेलु फोहोरमैला, व्यावसायिक फोहोरमैला, कृषिजन्य फोहोरमैला र निर्माणजन्य फोहोरमैला हुन्छन् । यी फोहोरलाई जैविक फोहोर (खाना र भान्साको फोहोर), निष्क्रिय र गैर जैविक फोहोर (निर्माण र भत्काउने फोहोर) र पुनः प्रयोग गर्न मिल्ने फोहोर (प्लाष्टिक, कागज, बोतल, गिलास आदि) गरी तीन भागमा बाँड्न सकिन्छ ।

फोहोरको विकल्प दिँदै डा. उपाध्याय भन्छन्, ‘माटाका भाँडा, नरिवल, पुरैनी र केराको पातहरू प्रयोग गर्नु प्लाष्टिकको लागि उत्तम विकल्प मानिन्छ । यसले स्थानीयलाई रोजगारीको अवसर समेत प्राप्त हुन्छ ।’ कतिपय रेस्टुरेन्टहरूमा माटाको भाँडामा चिया र टपरीमा खाना दिने गरिएको छ । केहीले माटोबाटै बनाइएका सजावट सामग्रीको प्रयोग गरेका छन् । यस्ता व्यवसायीहरूलाई सरकारले प्रोत्साहित गर्नुपर्ने उनको सुझाव छ ।

डा. उपाध्याय भन्छन्, ‘नेपालका सिमेन्ट उद्योग तथा हरेक सपिङ्ग सेन्टरहरूलाई प्लास्टिकको झोला र बोराको सट्टामा नेपालमै बनेको जुटको झोला र बोराहरू मात्र प्रयोग गर्नुपर्ने नियम बनाएर दशकौंदेखि बन्द भएको उद्योगलाई पुनर्जीवन दिन सकिन्छ ।’ फोहोरबाट विभिन्न वस्तुहरू निर्माण गर्न, ऊर्जामा उत्पादन गर्न र प्राङ्गारिक मल उत्पादन गरी आर्थिक समृद्धि गर्न सकिने उनको भनाइ छ ।

लुम्बिनीमा फोहोर व्यवस्थापनका लागि सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्क निर्माणको प्रक्रियामा छ । नगरपालिकाले पाँच जना सफाइकर्मीबाट दैनिक सरसफाइको कार्य गरिरहेको र ‘ग्रीन लुम्बिनी, क्लीन लुम्बिनी’ भन्ने अभियान लिएर प्रत्येक सोमबारलाई ‘ग्रीन डे, क्लीन डे’ का रूपमा नियमित सरसफाइ अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाका सरसफाइ संयोजक शेषराम यादवका अनुसार लुम्बिनीमा उत्पादित फोहोर ढुवानीका लागि एउटा टिप्पर तथा’ डोर टु डोर’ फोहोर संकलनका लागि दुईवटा विद्युतीय रिक्साको व्यवस्था छ । यहाँ फोहोर ढुवानीका लागि यसै आर्थिक वर्षमा एउटा ट्याक्टर पनि खरिद गर्ने नगरपालिकाको योजना रहेको यादवको भनाइ छ ।

नगरपालिकाको सरसफाइ शाखाका अनुसार लुम्बिनीमा प्रतिदिन २० देखि २५ क्विन्टल बढी फोहोर उत्पादन हुने गरेको छ । त्यहाँ ८० बढी होटल तथा रेष्टुरेन्ट, एक हजार बढी थोक तथा खुद्रा पसल र वर्षेनी १० लाख पर्यटकका चापका कारण फोहोर व्यवस्थापनमा समस्या आएको उनको भनाइ छ ।

नगरपालिकाले सरसफाइ र फोहोर व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ११ लाख बजेट विनियोजन गरेको छ भने अघिल्लो आवमा ८० लाख बजेट विनियोजन गरेको थियो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्क निर्माण गर्ने सम्झौता भएको छ । सो निर्माण परियोजना सम्पन्न गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाले पहिलो चरणको निर्माण कार्यका लागि दुई करोड रुपैयाँ छुट्याएको सरसफाइ शाखा संयोजक यादवको भनाइ छ ।

वडा नं ५ मा निर्माणाधीन अध्ययन केन्द्रमा कुहिने र नकुहिने फोहोर छुट्याएर त्यसको व्यवस्थापन गर्ने नगर प्रमुख सजरुद्दीन मुसलमानको योजना छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको भन्दै फोहोरलाई स्थायी रूपमा तह लगाउन र त्यसबाट स्थानीयलाई लाभ पुर्याउने गरी काम भइरहेको उनको भनाइ छ ।