मध्य भोटेकोशी जलविद्युत्को सुरुङबाट पानी चुहियो

मध्य भोटेकोशी जलविद्युत्को सुरुङबाट पानी चुहियो


सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि बस्ती उच्च जोखिममा परेका छन् ।

सुरुङबाट पानी चुहिएर फुट्ने खतरा बढेपछि बाह्रबिसे, राम्चे, खाग्दल जम्बु, ड्यामसाइड, लामो साँघु, खाडीचौर, कोठे, बलेफी, सुकुटेलगायतका दर्जन बस्ती उच्च जोखिममा परेका हुन् ।

माथिल्ला बस्ती र तटीय क्षेत्रका स्थानीय सुरुङ फुट्ने त्रासले चिन्तित छन् । उक्त आयोजनाले ७.१२६ किलोमिटर सुरुङभित्र पानी पठाएर परीक्षण गरिरहेको छ । पानी परीक्षण गर्ने व्रmममा बाह्रबिसे नगरपालिका–६ स्थित अडिट–१ को बोर्डर ल्यान्डनजिकै ढुङ्गाखानीबाट पानी चुहिएको हो ।

उक्त स्थानका केही पुरानो मूलमा पानी बढेको र केही थप नयाँ मूलहरू देखिएर पानी चुहिएको छ । आयोजना सम्पन्न हुने अन्तिम चरणमा सुरुङबाट पानी चुहिएपछि आयोजनाको मिति पछाडि धकेलिएको छ ।

“सुरुङ परीक्षणका व्रmममा नै रहेको र यस प्रकारको चुहावट हुन सक्ने भएकाले नै आयोजनाको सुरुङ परीक्षण गर्नु परेको हो,” आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले जानकारी दिए । पानी चुहिएको ठाउँमा केमिकल प्रयोग गरेर ग्राउन्डेड गरिरहेको आयोजनाले जनाएको छ । पानी चुहावट भएको स्थान यकिन गरी त्यसको समाधान गर्नतर्फ आयोजना लागिरहेको बताइएको छ ।

आयोजना, आयोजना निर्माण कम्पनी, परामर्शदाता तथा विज्ञ प्राविधिकसहितको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरी अध्ययन गरिरहेको आयोजनाले जनाएको छ । चुहावट समाधानको काम भइरहेकाले उक्त स्थानभन्दा माथि तथा वरिपरि बसोबास गर्ने स्थानीय बासिन्दा र अन्य सरोकारवालालाई सुरुङ परीक्षण सम्पन्न नहुन्जेलसम्म अन्यथा नलिइदिनहुन र परीक्षणका क्रममा पानी चुहावट भई कुनै धनजनको क्षति हुन सक्ने सम्भावना ध्यानमा गर्दै निर्माण कम्पनीसँग सम्झौता गर्दा नै बिमा गरिएको र आयोजना स्थानीय बासिन्दाको सुरक्षाप्रति प्रतिबद्ध रहेको आयोजनाले एक सूचना जारी गर्दै भनेको छ ।

सन् २०१३ मा निर्माण सुरु भई २०१७ जुनमा आयोजना निर्माण सम्पन्न हुनुपर्ने थियो । भूकम्प, नाकाबन्दी, भोटेकोशी बाढीपहिरो, कोरोनालगायतका कारण देखाई सन् २०१९ सम्म म्याद थपिएको थियो । उक्त अवधिमा पनि आयोजना सम्पन्न नभएपछि आगामी वैशाखसम्म आयोजनाको म्याद थपिएको छ ।

१४ अर्ब रुपैयाँको लागतमा आयोजना सम्पन्न हुने योजना भए पनि म्याद थपिएको थपिएपछि लागत बढेर २० अर्ब रुपियाँ पुगेको छ । आयोजनामा कमसल सामग्री प्रयोग, हिनामिनालगायतको आरोपमा अनुसन्धान भएको थियो ।