‘हल्ट प्राइज’को फाइनलमा ५ टोली छानिए, फाइनल प्रतिस्पर्धा मंगलबार

‘हल्ट प्राइज’को फाइनलमा ५ टोली छानिए, फाइनल प्रतिस्पर्धा मंगलबार


काठमाडौँ ।

काठमाडौँ विश्वविद्यालयअन्तर्गतको हल्ट प्राइज कमिटीले आयोजना गरेको ‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट ५ टोली छनोट भएका छन् ।

शनिबार काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) को कार्यालय बालकुमारीमा भएको सेमिफाइनलमा १३ वटा टोलीबाट उत्कृष्ट ५ टोली फाइनल चरणमा पुगेका हुन् ।

क्यानेडियन स्टडी सेन्टर र अग्नि महिन्द्रा समूहको सहयोगमा आयोजित ‘हल्ट प्राइज’ प्रतियोगितामा काठमाडौँ विश्वविद्यालयअन्तर्गतका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूको १३ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धी समूहले प्रस्तुत गरेको उत्कृष्ट बिजनेस आइडियाका आधारमा उत्कृष्ट ५ टोली छनोट गरिएको हो । अब यी ५ टोलीहरूबीच फाइनल चरणमा पुनः प्रतिस्पर्धा भई उत्कृष्ट एउटा टोली छनोट हुने आयोजक कमिटीका प्रमुख साशा सुनुवारले जानकारी दिइन् ।

उनका अनुसार उत्कृष्ट बन्ने एक टोलीले पछि काठमाडौँ विश्वविद्यालयको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा हुने अर्को प्रतिस्पर्धामा भाग लिनेछ ।

यस प्रतियोगिताको फाइनल चरणको प्रतिस्पर्धा आगामी भाेलि मंगलबार काठमाडौँ विश्वविद्यालय धुलिखेलमा आयोजना हुने सुनुवारले जानकारी दिइन् ।

सेमिफाइनलबाट फाइन प्रवेश गर्ने उत्कृष्ट ५ टोलीमा डा. फिश, लेडिज विथ ए ल्याम्प, हेम्पायर, द अपसाइकलर्स र कोडोको खाजा छन् ।

प्रतिस्पर्धी टोलीहरूको मूल्यांकन आइआइडिई नेपालकी लर्निङ एन्ड डेभलपमेन्ट प्रमुख अन्चिता भिम्सारिया, च्यौ बायो टेक्नोलोजीका संस्थापक एवं र इन्जिनियर गुञ्जन घिमिरे, पार्थ स्टुडेन्ट उद्यमका सह–संस्थापक रुबी शाह तथा कारोबर एपका संस्थापक समीर फुयाँलसहितको स्वतन्त्र निर्णायक मण्डलबाट भएको थियो ।

प्रतिस्पर्धीहरूले बिजनेस आइडियाबारे भिडियो प्रस्तुत गर्दै त्यसैका आधारमा प्रश्नोत्तरमा सहभागी भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अग्नि महिन्द्रा समूहका उपनिर्देशक बार्दन बस्नेतले प्रतिस्पर्धाले विद्यार्थीहरूलाई उद्यमी बन्न प्रोत्साहित गरेको बताए । यस्ता प्रतिस्पर्धाहरूबाट अध्ययन पूरा गर्दै गरेका विद्यार्थीहरूलाई उद्यमी बन्न उत्प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे ।