रुसले लगायाे पेट्रोल निर्यातमा प्रतिबन्ध

रुसले लगायाे पेट्रोल निर्यातमा प्रतिबन्ध


एजेन्सी ।

रुसले पेट्रोल (ग्यासोलिन)को निर्यातमा रोक लगाएको छ । यो प्रतिबन्ध मार्च १ देखि लागू हुनेछ । स्थानीय स्तरमा उपभोक्ता र किसानहरूबाट ग्यासोलिनको माग बढिरहँदा मंगलबार यो घोषणा आएको हो ।

तेल प्रशोधन कम्पनीहरूले प्रशोधन केन्द्र मर्मत सम्भारको योजना बनाइरहेका छन् । यस्तोमा स्थानीय स्तरमा पेट्रोलको अभाव भएर मूल्य बढ्ने स्थिति टार्न यो कदम चालिएको हो । रुसी उपप्रधानमन्त्री आलेक्जान्डर नोभाककी प्रवक्ताले पनि प्रतिबन्धको पुष्टि गरेकी छिन् ।

घरेलु स्तरमा ग्यासोलिनको मूल्य वृद्धि र अभावको स्थिति उत्पन्न भएपछि रुसले गएको वर्ष सेप्टेम्बरदेखि नोभेम्बरको बिचमा पनि यस्तै खालको प्रतिबन्ध लगाएको थियो । अहिलेको प्रतिबन्धमा बेलारुस, काजकस्तान, अर्मेनिया र क्रिगस्तानलाई छुट दिइएको छ ।