संघीय सरकारले पठाएका टुक्रे योजना फिर्ता गर्दै गण्डकी सरकार

संघीय सरकारले पठाएका टुक्रे योजना फिर्ता गर्दै गण्डकी सरकार


म्याग्दी ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले संघीय सरकारले पठाएका टुक्रे योजना फिर्ता गरेको छ। संघीय सरकारले शसर्त शीर्षकमा प्रदेशमा पठाएका टुक्रे प्रकृतिका योजना फिर्ता गरेर त्यहाँको बजेट दायित्व सिर्जना भइसकेका ठूला प्रकृतिका आयोजनाका लागि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको हो।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले संघीय सरकारले पठाएको टुक्रे योजनाको बजेट संघीय शसर्तका दायित्व सिर्जना भएका योजनामा रकमान्तरण गरिएको जानकारी दिए।

‘प्रदेश सरकारले ३० लाख रूपैयाँभन्दा कम बजेटका योजनामा लगानी नगर्ने नीति लिएको अवस्थामा संघीय सरकारले चार-पाँच लाख रूपैयाँ बजेटका योजना पठाउँदा समस्या भएको थियो’, उनले भने, ‘सघीय शसर्तका टुक्रे योजनाको बजेट रकमान्तरण गरेर संघीयताकै दायित्व सिर्जना भएका आयोजनामा खर्च गर्न लागिएको हो।’

संघीय सरकारले गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई चालु आर्थिक वर्षमा ३० लाख रूपैयाँभन्दा कम बजेटका एकसय ७४ वटा योजनाका लागि १६ करोड २५ लाख रूपैयाँ विनियोजन गरेको थियो।

सो बजेट दायित्व सिर्जना भएका संघीय शसर्तका ८ वटा सडक योजनामा रकमान्तरण गरिएको मन्त्रालयले जनाएको छ। यी आयोजनाका लागि चालु आर्थिक वर्षमा एक करोड १५ लाख रूपैयाँमात्र बजेट विनियोजन भएको थियो।

संघीय शसर्तको दायित्व सिर्जना भइसकेको स्याङ्जाको मिर्मी-क्याक्मी-भिमाद सडक आयोजनाका लागि चालु आर्थिक वर्षमा बजेट शून्य थियो। तीन करोड ५० लाख रूपैयाँ भुक्तानी दिनुपर्ने कास्कीको फुर्सेखोला-रायोडी-मट्टिखाना सडकमा २० लाख रूपैयाँमात्र बजेट आएको थियो।

मन्त्रालयको सडक तथा सहरी विकास महाशाखाका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राम पराजुलीले संघीय अर्थ मन्त्रालयले शसर्त शीर्षकको एउटा आयोजनाको बजेट अर्को योजनामा रकमान्तर गर्न प्रदेशको आर्थिक मामिला मन्त्रालयलाई अधिकार दिएपछि भौतिकले अधुरा आयोजनालाई बजेट व्यवस्थापन गरेको बताए।

‘संघीय शसर्तका दायित्व सिर्जना भइसकेका ३० भन्दा बढी आयोजनाका लागि एक अर्ब ६५ करोड रूपैयाँ बजेट आवश्यक छु, उनले भने, ‘टुक्रे योजनाको बजेट काम भइरहेका र भुक्तानी दिनुपर्ने योजनामा व्यवस्थापन गरिए पनि अपुग भएकाले अप्ठ्यारो परेको छ।’

मन्त्री जुग्जालीले अधुरा आयोजनालाई पूर्णता दिन निर्माण व्यवसायीलाई काममा फर्काउने र बजेट व्यवस्थापन गर्ने कामलाई सँगसँगै अघि बढाएको बताए।