भरतपुरमा बन्याे सुविधासम्पन्न आँखा अस्पताल

भरतपुरमा बन्याे सुविधासम्पन्न आँखा अस्पताल


चितवन ।

नेपाल नेत्रज्योति संघ चितवन शाखाले दाताको सहयोगमा ३ तले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार ५०० स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।

भवन निर्माण समितिका संयोजक एवं संघका पूर्वसभापति चिजकुमार मास्केका अनुसार २० करोड १५ लाख २२ हजार लागत अनुमान गरी निर्माण थालिएको भवन १३ करोड ५० लाखमा निर्माण गरिएको हो । उनका अनुसार नवनिर्मित भवनको पहिलो तलामा बाल आँखारोग बहिरंग विभाग, दोस्रो तलामा अन्तरंग विभाग र तेस्रो तलामा चारवटा मोडुलर शल्यक्रिया कक्ष छन् ।

२०७८ फागुनमा निर्माण सुरु गरिएको सो भवन आउँदो शुक्रबार उद्घाटन गरिने कार्यक्रम छ । स्वदेशी तथा विदेशी दातृ संस्था, प्रदेश सरकार र भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भवन निर्माण गरिएकोे हो । उनलेभने, ‘भवन निर्माणका लागि रु आठ करोड ५० लाख ७३ हजार पाँच सय ५७ चन्दादाता, दातृ तथा विभिन्न संस्थाहरूबाट प्राप्त भएको हो । अपुग रकम अस्पतालले व्यहोरेको थियो ।’

उक्त आँखा अस्पतालका ३ वटा शाखा अस्पताल, १८ वटा प्राथमिक आँखा उपचार केन्द्र छन् । ती शाखा, केन्द्र र मुख्य अस्पतालबाट गरी दैनिक ८०० हाराहारी बिरामीले सेवा लिँदै आएको संघका जिल्ला सभापति जयराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रत्येक वर्ष ३ लाखभन्दा बढी बिरामीले सेवा लिने गरेकामा १० हजारभन्दा बढी शल्यक्रिया हुने गरेको छ । अस्पतालले ठोरीबाट भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ ।

उक्त अस्पतालले बाग्मती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका ८ जिल्लामा सेवा पुर्‍याउँदै आएको छ । २०४४ चैत १८ गते स्थापना भई सेवा सुरु गरेको भरतपुर आँखा अस्पतालले अहिले उपचारात्मक, अनुसन्धानात्मक र प्रतिरोधात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।