८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग बनिसक्छ : उपप्रधानमन्त्री खड्का

८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग बनिसक्छ : उपप्रधानमन्त्री खड्का


काठमाडौँ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सो आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने उल्लेख गरे। आयोजना जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यसो हुन नसकेको स्वीकार गर्दै उपप्रधानमन्त्री खड्काले लागत नबढ्ने गरी प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे।

सो मार्गको खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको जनाउँदै उनले विभिन्न विकल्पमाथि छलफल जारी रहेको बताए।

प्रक्रिया पुर्‍याउने सन्दर्भमा केही ढिलाइ हुँदा जाजरकोट भूकम्पपीडितले पुनःनिर्माणबापतको रकम पाउन केही समय लागेको उपप्रधानमन्त्री खड्काले उल्लेख गरे।

प्रमुख जिल्ला अधिकारीमार्फत पीडितलाई राहत रकम उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ।

नेपाली सेनाको कल्याणकारी कोषमार्फत हेटौँडा कपडा कारखाना सञ्चालनका लागि प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस भएको भन्दै उक्त प्रतिवेदन अध्ययनको क्रममा रहेको उनले बताए।