गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडीस्थित ऐतिहासिक धार्मिक क्षेत्र रुरुक्षेत्रमा आगामी माघ महिनाभर सञ्चालन हुने ‘रुरु महास्नान’ को तयारी तीव्र पारिएको छ । कालीगण्डकी नदीको धार्मिक महिमा र रुरुक्षेत्रको ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले महास्नानको अवधारणा अघि सारेको हो ।
माघ महिनालाई नै ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । यस अवधिमा धार्मिक स्नान, पूजाआजा, दर्शन, तीर्थाटन तथा विभिन्न धार्मिक–सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछन् । यसअघि हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा पाँच दिनसम्म माघी मेला लाग्दै आएको रुरुक्षेत्रमा अब माघ महिनाभर नै श्रद्धालु तथा तीर्थयात्रीको आवागमन बढाउने लक्ष्य राखिएको छ ।
महास्नानलाई भव्य र व्यवस्थित बनाउन लुम्बिनी प्रदेश सरकारसमेत सक्रिय भएको छ । वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा लुम्बिनी प्रदेश विकास परिषद्को बैठक रुरुक्षेत्रमा सम्पन्न भइसकेको छ । बैठकमा मन्त्री चौधरीले महास्नान सफल बनाउन मन्त्रालयसहित प्रदेश सरकारका सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरुक्षेत्रको धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रचारप्रसार र तयारीलाई तीव्रता दिइएको बताए । महास्नानलाई व्यवस्थित बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने निर्णय गरिसकेको छ । नेपालका चार धामलाई जोडेर धार्मिक तीर्थाटनको सम्बन्ध विस्तार गर्ने र रुरुक्षेत्रको धार्मिक महिमा थप उजागर गर्ने लक्ष्यसमेत राखिएको अध्यक्ष ज्ञवालीले बताए ।
हिन्दू धर्मावलम्बीका लागि पवित्र मानिने कालीगण्डकी नदी रुरुक्षेत्रको धार्मिक पहिचानको प्रमुख आधार हो । यस नदीमा पाइने शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ । यही धार्मिक आस्थाका कारण नेपाल र भारतका श्रद्धालु रिडी पुग्ने गरेका छन् । रुरुक्षेत्रस्थित ऋषिकेश मन्दिर यहाँको प्रमुख धार्मिक आकर्षण हो । पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको मानिने यस मन्दिरसँगै गायत्री मन्दिर, शिवालय, भीमसेन मन्दिर, भगवती मन्दिर, हनुमान बाटिका, गणेश–भैरव मन्दिर, सत्येश्वर, राम, गुप्तेश्वर महादेव र रुरुकन्या मन्दिरले क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्त्व बढाएका छन् ।
धार्मिक सम्पदासँगै रिडीमा पर्यटकीय आकर्षण पनि थपिँदै गएको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको नेपालकै पहिलो तीनमुखे झोलुङ्गे पुल यहाँको प्रमुख पर्यटकीय आकर्षण बनेको छ । उक्त पुलले गुल्मी, पाल्पा र स्याङ्जालाई जोडेको छ । कालीगण्डकीको प्राकृतिक सौन्दर्य, पुरानो बजार र धार्मिक मठमन्दिरले रिडीलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावनायुक्त गन्तव्य बनाएका छन् ।
महास्नानका क्रममा श्रद्धालु तथा पर्यटकको सङ्ख्या बढ्ने र त्यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने गाउँपालिकाको अपेक्षा छ । तीर्थयात्रीको आवागमन बढ्दा होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला तथा पूजासामग्रीको व्यापार विस्तार हुने विश्वास गरिएको छ ।
महास्नानलाई प्रभावकारी बनाउन गाउँपालिकाले नेपालका चार धामसँग सम्बन्धित स्थानीय सरकार तथा सरोकारवाला निकायसँग तीर्थयात्रा व्यवस्थापन, पूर्वाधार विकास र सेवा सुविधाको गुणस्तर सुधारबारे छलफल अघि बढाएको छ । त्यस्तै, कालीगण्डकी नदीको धार्मिक महत्त्व, शालिग्राम संरक्षण र नदीको स्वच्छता कायम गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ । महास्नानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि पर्यटन मन्त्रालयसँग र आवश्यक समयमा नदीमा पानी छोड्ने विषयमा ऊर्जा मन्त्रालयसँग छलफल गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
धार्मिक आस्था, सांस्कृतिक पहिचान र प्राकृतिक सम्पदालाई पर्यटनसँग जोडेर रुरुक्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित महास्नानको तयारी अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया