टीकापुर नगरपालिकाका उपप्रमुख शाह निलम्बित

टीकापुर नगरपालिकाका उपप्रमुख शाह निलम्बित


कैलाली ।

कैलालीको टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह निलम्बनमा परेका छन्।

सार्वजनिक जग्गा घोटलामा मुछिएपछि उपप्रमुख शाह निलम्बनमा परेको नगर प्रमुख रामलाल डगौरा थारूले जानकारी दिए।

टीकापुर जग्गा घोटाला काण्डमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शाहलाई निलम्बन गर्न नगरपालिकाको कार्यालयमा पत्र पठाएको थियो।

सो पत्र प्राप्तपछि नगरकार्यपालिकाको बैठक बसेर उनलाई निल्मबन गरिएको हो।

फागुन १८ गते उपप्रमुख शाहलाई निलम्बन गरेको नगरप्रमुख डगौरा थारूले बताए।

यसअघि नै अख्तियारले टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजात खडा गरी व्यक्ति विशेषको नाममा हकहस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

टीकापुर नगरपालिकाका नगर उपप्रमुख शाह तत्कालीन नगर विकास समितिका बोर्ड सदस्य थिए।

उक्त मुद्दामा उपप्रमुख शाह पनि जोडिएको खुलेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ सय ४९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।