हिमालबाट जाडो छल्न बेँसी झरेका भेडीगोठ लागे उकालाे

हिमालबाट जाडो छल्न बेँसी झरेका भेडीगोठ लागे उकालाे


फुङ्लिङ ।

बेँसी झारिएका भेडीगोठलाई हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न बस्तीसम्म भेडीगोठलाई सारिएका थिए । हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ ।

गाउँबस्तीमा खेती गर्ने समय सुरु भएसँगै बस्तीसँग भेडीगोठको सम्बन्ध छुट्नु एक बाध्यता पनि हो । बस्ती नजिक रहेका खाली चरन क्षेत्रमा अहिले अलैँची बगान विस्तार भएसँगै भेडीगोठ गाउँबस्तीमा धेरै समयसम्म बस्न सक्दैन । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने रुपेश लिम्बूको रात त्रिपालमुनि बित्ने गरेको छ । फक्ताङलुङ गाउँपालिका–४ पिपुथापका उहाँ कहिले हिमालको फेदी त कहिले बस्तीतिर भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । आफ्नो पुर्ख्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ बसेका हुन् ।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अंगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वनजङ्गल, बुकी र खर्कमा भेटिन्छन् । उनले करिब तीन सय बढी भेडाबाख्रा पालेका छन् । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्याउने गरिन्छ ।

फुङ्पलिङ नगरपालिका–१० फावाखोलाको गोपाल विष्टको भेडीगोठ अहिले बस्तीदेखि अलिक माथि साम्लिङ खर्कमा उक्लेको छ । गाउँदेखि उक्लेको भेडीगोठ अब वैशाखे हुँदै फक्ताङलुङ गाउँपालिकामा रहेको विश्वको अग्लो कञ्चजङ्घा हिमालको आधार शिविरसम्म पुग्नेछन् ।

किसान लिम्बू करिब तीन महिनासम्म मिक्वाखोला गाउँपालिका–५ समुद्र सतहबाट चार हजार पाँच सय मिटरमा रहेका लोदेन क्षेत्रसम्म पुग्ने गर्छन् । फेम्बू गाउँको फेदी हुँदै बग्ने खोक्सेवा खोला किनारमा रहेका बारीको फाँटमा उहाँको भेडीगोठ राखिएको छ । घुम्ती गोठका भेडालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ ।

“वैशाख–जेठसम्म्म अब पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिरमात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ”, उनले भने । घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको फक्ताङलुङ गाउँपालिका–६ का भेडापालक किसान विशाल लिम्बूले बताए ।

उनले भने, “पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आजभोलि त्यो परम्परागत पेसा हराएर जान थालेको छ, हाम्रो बाबुबाजे सबैले यहीँका भिरपाखामा पसिना बगाउनुभएको छ, हाम्रो जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ”, उनले भने ।

सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको लिम्बू बताउँछन् । लिम्बूसँग अहिले दुई सयवटा भेडा छन् । अहिले वार्षिक रु पाँचदेखि छ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताउँछन्े । उनले भने, “भेडाको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन”, बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।

दसैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् भने देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोका धेरै खपत हुने गरेको भेडापालक किसानको भनाइ छ । हिमाली बुकीमा पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ । भेडापालन पेसा अधिकांश समय वनजङ्गलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ ।

जङ्गलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, वर्षा, हिमपातलगायतका प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्ने भेडापालकको भनाइ छ । हिमपात र भारी वर्षा हुँदा भेडाका पाठापाठी बचाउन मुस्किल हुने किसानको भनाइ छ । वन्यजन्तुको आक्रमणबाट बचाउन गोठमा भोटे प्रजातिका कुकुरसमेत बाल्ने गर्दछन् ।

पछिल्लो समय भेडापालन गर्ने किसान घट्दो छन् । युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्तीगोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ । हराउँदो घुम्तीगोठमा पशुपालन गर्ने परम्परात पेसालाई अगालेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने ताप्लेजुङका केही युवाहरू लागिपरेका छन् ।