मुस्ताङको कोरोला – त्रिवेणी जोड्ने सडक ट्र्याक खुलेको २९ बर्षपछि कालोपत्रे सुरु

मुस्ताङको कोरोला – त्रिवेणी जोड्ने सडक ट्र्याक खुलेको २९ बर्षपछि कालोपत्रे सुरु


तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा मंगलबारदेखि कालोपत्र सुरु भएको छ । गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि प्राविधिकका कारण ढिलाइ हुन गएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र थालिएको उनले बताए । जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेडगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्र हुनेछ । उनले भने, ‘पहिलो चरणमा छ किलोमिटर निरन्तर हुन्छ, बाँकी पाँच किमी एक महिनापछि गरिनेछ ।’ अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिन लागेको कार्यालय प्रमुख आचार्यले बताए । कालोपत्र कार्य अघि बढाएसँगै उक्त सडक बन्द गरिएको छ ।

२०५१ सालमा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र गर्न लागिएको हो । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मंसिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ रुपैयाँको लागतमा कालोपत्र सुरु गरिएको आचार्यले जानकारी दिए । ३५ करोड १४ लाख ७४ हजार एक सय नौ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौंडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार तीन सय १६ रुपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो । उक्त सडकको चौडाइ सात मिटर हुनेछ ।

सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ । २०७६ साल फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माण कार्य प्रभावित भएको उक्त निर्माण कम्पनीले जनाएको छ ।