मधेसको मुख्यमन्त्रीमा सुनिश्चतता खोज्दै जसपा र जनमत, अप्ठ्यारोमा प्रचण्ड

मधेसको मुख्यमन्त्रीमा सुनिश्चतता खोज्दै जसपा र जनमत, अप्ठ्यारोमा प्रचण्ड


काठमाडौँ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुनु र समर्थन जनाउनुअघि मधेस प्रदेशको भावी नेतृत्वका लागि लडाइँ सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन तथा समर्थन जनाउन अनुरोध गरेपछि जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्वमा सुनिश्चितता खोजेका हुन् । दुवै पार्टीले मधेस प्रदेशको सुनिश्चितता खोजेपछि प्रधानमन्त्री प्रचण्डलाई दुवै पार्टी मिलाउन सकस पर्ने देखिएको छ ।

सोही विषयका कारण जसपा नेपालको आज बिहान बसेको कार्यकारिणी समितिको बैठक बिनानिष्कर्ष सकिएको थियो । मुख्यतयाः मधेस प्रदेशको मुख्यमन्त्री दिन एमाले र माओवादीले प्रतिबद्धता जनाउनुपर्ने अनि मात्रै केन्द्रका बारेमा निर्णय लिनुपर्ने धारणा बहुमत सदस्यले राखेपछि जसपाको आजको कार्यकारिणी समितिको बैठक बिनानिष्कर्ष टुंगिन पुगेको हो ।

कुनै निर्णय गर्न नसकेपछि सोको सुनिश्चितता खोज्न बैठकलगत्तै अध्यक्ष उपेन्द्र यादव पार्टीका अर्का नेता राजेन्द श्रेष्ठलाई लिएर वालुवाटार गएका थिए ।

उता, मधेस प्रदेशको मुख्यमन्त्री सुनिश्चित भएपछि मात्रै जनमत पार्टी प्रचण्ड सरकारमा सामेल हुने सन्देश प्रधानमन्त्री प्रचण्डलाई पठाएको छ । एमाले र माओवादी गठबन्धन सरकारमा सामेल हुनका लागि जनमत पार्टीले मधेस मुख्यमन्त्रीको सुनिश्चितता खोजेको हो ।

यसअघि एमालेसहितको गठबन्धन हुँदा २०७९ पुस १० गते भएको सहमतिअनुसार १ वर्षपछि जनमतले मधेस प्रदेशको मुख्यमन्त्री पाउने भन्ने थियो । तर डेढ वर्ष लाग्नै खोज्दा पनि जनमतले सो सहमति अनुसारको मुख्यमन्त्री पाएको छैन ।

‘यसअघि निर्वाचनलगत्तै २०७९ पुस १० गते एमाले र माओवादीसँग भएको सहमतिअनुसार १ वर्षपछि मधेसको मुख्यमन्त्री जनमतको हुने भन्ने सहमति भएको थियो ।त्यो सहमति अझै कार्यान्वयन भएको छैन ।जबसम्म मधेस प्रदेशमा जनमतले मुख्यमन्त्रीको सुनिश्चितता पाउँदैन, तबसम्म केन्द्र सरकारमा जाने कुनै निर्णय हुन सक्ने अवस्था छैन,’ प्रवक्ता शरदसिंह यादवले सञ्चारकर्मीसँग भने ।

उनका अनुसार मधेसको मुख्यमन्त्री सुनिश्चित भएपछि प्रचण्ड सरकारमा सहभागिता हुने वा समर्थन जनाउनेबारेमा पार्टीले निर्णय गर्ने उनले जनाए ।

जसपा नेपाल र जनमत दुवैले मधेस प्रदेशको मुख्यमन्त्रीमा सुनिश्चितता खोजेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने राजनीतिक संकटमा परेका छन् ।