अन्तरनिकाय बजेट बाँडफाँटलाई निरन्तरता दिने सहरी विकासमन्त्रीको निर्णय

अन्तरनिकाय बजेट बाँडफाँटलाई निरन्तरता दिने सहरी विकासमन्त्रीको निर्णय


काठमाडौँ ।

सहरी विकासमन्त्री धनबहादुर बुढाले चालु आर्थिक वर्ष २०८०–८१ मा मन्त्रालयमा प्राप्त बजेट सिलिङलाई अन्तरनिकाय बाँडफाँटलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

मन्त्रिमण्डलको विस्तारसँगै आज पदभार ग्रहण गर्दै मन्त्री बुढाले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रीले पदबहाली ग्रहणसँगै मन्त्रालयको करिब रु ४६ अर्बको सिलिङलाई मन्त्रालयअन्तर्गतका निकायलाई बाँडफाँट गर्ने निर्णय गरेको जानकारी दिए ।

“मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायतका विभिन्न मन्त्रालयअन्तर्गतका निकायलाई बाँडफाँट गरेका छौँ । गत वर्ष जुन अनुपातमा थियो । पदबहालीसँगै मन्त्री बुढाले सोही अनुपातमा बजेट बाँडफाँटलाई निरन्तरता दिनेमा स्वीकृत गर्नुभएको छ”, सचिव गेलालले जानकारी दिए।

कर्णाली प्रदेश डोल्पा जिल्ला, काइके गाउँपालिकामा विसं २०३१ फागुन ७ गते जन्मनुभएको मन्त्री बुढा विसं २०७९ मङ्सिर ४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट डोल्पा जिल्ला निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।

उनी विसं २०६० र २०६१ मा जिल्ला विकास समिति सभापति, विसं २०७० मा संविधानसभा सदस्य, विसं २०७४ मा प्रतिनिधिसभा सदस्य, विसं २०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका थिए ।