गठबन्धनमा अन्य दललाई पनि समेट्न एमालेले पहल गर्ने

गठबन्धनमा अन्य दललाई पनि समेट्न एमालेले पहल गर्ने


काठमाडौँ ।

नेकपा एमालेको सचिवालय बैठक सकिएको छ। बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बैठकपछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए ।

‘मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ । त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले नेकपा एमालेको तर्फबाट सकारात्मक योगदान पुर्‍याउने हिसाबले नेकपा एमाले योगदान गर्नुपर्छ भन्ने हामीले निष्कर्ष निकालेका छौँ,’ उनले भने ।

५ राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको बताउँदै उनले त्यसमा अन्य दललाई पनि साथ समर्थनका लागि सचिवालय बैठकले आह्वान गरेको जानकारी दिए ।

‘जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्चा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्छ, त्यसले अनुकूलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता छ,ु उनले भने ।

देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना विकास गर्ने प्रयास नयाँ सरकारले गर्ने उनको भनाइ छ । ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका प्रश्नमा, सामाजिक न्यायका प्रश्नमा यो सहकार्य फलदायी हुने विश्वास बैठकले व्यक्त गरेको छ,ु पोखरेलले भने ।

बैठकले पार्टी स्थापनाको ७५औँ वर्षगाँठको दिन वैशाख १० गते विशेष समारोह आयोजना गर्ने निर्णय गरेको उनले बताए । वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्ने र १० गते विशेष कार्यक्रम गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए । ‘त्यसको तयारी कसरी गर्ने भन्ने सन्दर्भमा आज हामीले छलफल गर्‍यौँ,’ उनले बैठकपछि भने ।