पुल नहुँदा राप्ती सोनारीका जनतालाई सास्ति

पुल नहुँदा राप्ती सोनारीका जनतालाई सास्ति


नेपालगन्ज ।

खहरेखोलामा पुल नहुँदा बाँकेको राप्ती सोनारी गाउँपालिकावासीले यात्रा गर्दा जोखिम मोल्नु परिरहेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले खहरेखोलामा पुल नहुँदा बालबालिकालाई विद्यालय पठाउन समेत समस्या भएको बताएका छन् ।

राप्ती सोनारी–९ खैरीटोलका लालबहादुर विकले स्थानीय डुडुवा खोलामा पुल नहुँदा काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए । ‘हिउँदमा जसोतसो गरी खोला तरे पनि वर्षात्मा जोखिम मोल्नुपर्छ,’ उनले भने । खैरीटोलबाट पढ्न गुरुवागाउँ जानुपर्ने भएकाले खोला तर्न बालबालिकालाई सकस हुन्छ ।

राप्ती सोनारी–९ को भक्तेखोला र चुके नालामा वर्षात्मा आउने बाढीले स्थानीय प्रभावित बन्दै आएका छन् । खहरेखोलामा पुल नबन्दा जोखिम मोल्नुपरेको स्थानीय माधव पौडेलले बताए ।

राप्ती सोनारी–७ फत्तेपुर नयाँबस्तीका शंकर यादवले विसम्मवरपुर र पदनाहा गाउँ नजिकको खहरेखोलामा पुल नहुँदा वर्षात्मा आवागमन ठप्प हुने बताए । पुल नहुँदा राप्ती सोनारी–६ र ७ वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत बस्तीका बासिन्दा समस्यामा छन् ।

राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले वडामा सडक, पुल तथा नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलगायत काम गर्नुपर्ने भए पनि सीमित बजेटका कारण गर्न नसकिएको बताए । ‘वडाका धेरै टोलमा पुलको आवश्यकता छ, निर्माणका लागि पहल भइरहेको छ,’ उनले भने ।

राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी–९ खैरीटोलस्थित डुडुवाखोलामा पुल निर्माणका लागि पहल भइरहेको बताए । सीमित बजेटका कारण स्थानीयको माग पुरा गर्न नसकेको उनको भनाइ छ ।