१८ खर्ब नाघ्याे विदेशी मुद्रा सञ्चिति

१८ खर्ब नाघ्याे विदेशी मुद्रा सञ्चिति


काठमाडौँ ।

माघसम्म मुलुकको कुल विदेशी मुद्रा (विनिमय) सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत असारको तुलनामा यो १९.९ प्रतिशतको वृद्धि हो ।

गत माघसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ छ ।

गत असारको तुलनामा यो २०.७ प्रतिशतले बढेको हो । गत असारमा यस्तो सञ्चिति १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा माघ मसान्तमा १४.२ प्रतिशतले वृद्धि भई २ खर्ब २१ अर्ब २ करोड कायम भएको छ ।

माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ । माघसम्मको सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने दाबी राष्ट्र बैंकको छ ।