भ्रष्टाचारकाे पराकाष्ठा : शौचालय निर्माणमै १२ लाखबढी अनियमितता, अख्तियारले हाल्याे मुद्दा

भ्रष्टाचारकाे पराकाष्ठा : शौचालय निर्माणमै १२ लाखबढी अनियमितता, अख्तियारले हाल्याे मुद्दा


काठमाडौं ।

शौचालय निर्माण गराउँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

१२ लाख ८९ हजार ३ सय २० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मुद्दामा प्रतिवादी बनाइएकाहरुमा तामाकोसी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, लेखा अधिकृत विजय लुइँटेल लगायत छन् ।

त्यस्तै, इन्जिनियर सुबोधकुमार चापागाईँ, लेखापाल रामबहादुर कार्की, सब–इन्जिनियर सिर्जना दुवाल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल, तामाकोसी–१ का तत्कालीन वडाध्यक्ष महेश्वर काफ्ले, वडा ४ का तत्कालीन वडाध्यक्ष होमबहादुर श्रेष्ठ र वडा ३ का तत्कालीन तथा हालका वडाध्यक्ष रामप्रसाद काफ्लेविरुद्ध समेत मुद्दा दायर गरिएको छ ।

तामाकोसी–३ जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि आयोगले अनुसन्धान अघि बढाएको थियो ।