कृषिबाटै बने धरानका कृष्ण राई करोडपति

कृषिबाटै बने धरानका कृष्ण राई करोडपति


धरान । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देखेका छन् ।
कृषिबाटै नाम र दाम कमाएका उनले भन्छन् , “अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ”, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गरेका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आएका छन् । कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोडेका छन् । ्भव्य घर समेत बनाएका छन् । कृषिबाट उनले आफुले मात्र कमाएका छैनन् अरुलाई पनि रोजगारी दिएका छन ।

कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् भने बराह क्षेत्रमा करिब १५ विघा जमिन किनेका छन् । ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाएका छन् भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाएका छन् । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्दछन् ।

त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्छन् भने मासुका लागि पालिएका बङ्गुर र कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि बेच्ने गरेका छन् । घरै उनले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गर्नु साथै माछा पनि पालेका छन् ।

 

उनको सोताङ अग्र्यानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उनले १६ जनालाई रोजगारीसमेत दिएका छन्। हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ । उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरेका छन् । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक रु १२ लाखको हाराहारीमा कमाई भइरहेको उनी बताउछन् ।

पचपन्न रुपैयाँबाट सुरु
अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । उनी भन्छन् , “सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो ।”
सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आएका थिए । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देखे । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाए । “त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ”, उनी सम्झिन्छन्, “त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।”