पोखरामा बन्ने भयो ‘पोखरा घर’

पोखरामा बन्ने भयो ‘पोखरा घर’


तस्बिरमा पाेखराकाे रमणीय दृश्य ।

कास्की ।

पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ।

पोखरा महानगरपालिकाले महानगरको सातौं स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो।

पोखरा–९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे।

पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने विश्वास लिइएको छ। घर पाँच तलाको निर्माण हुने भएको छ।

यसको लागत रु पाँच करोड एक लाख ४६ हजार पाँच सय ५१ रहेको महानगरका पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार घरको निर्माण आगामी डेढ वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता गरिएको छ।

भवनको भुइँतलामा पार्किङ, पहिलो तलामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, तेस्रो तलामा आर्ट ग्यालरी तथा सोभन्दा माथि घण्टा घर रहने इन्जिनियर पाण्डेले बताए।

कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा घरले समग्र पोखराको विस्तृत जानकारी दिने केन्द्र बन्ने बताए।

उनका अनुसार पोखराका आउनेका लागि यो घर एउटा महत्त्वपूर्णस्थल बन्नेछ।

‘पोखरा घर परम्परागत वास्तुकला र पछिल्लो प्रविधिको प्रयोग गरेर काठको बार्दलीसमेतको मौलिक बन्ने छ। यसको सञ्चालनका लागि विगतमा महेन्द्रपुलमा भत्काइएको जीर्ण भवनमा रहेका संस्थासँगनै सहकार्य गर्नेछौं,’ महानगर प्रमुख आचार्यले भने।

पोखराको महेन्द्रपुलमा यसअघि रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय रहेको भवन जीर्ण भएपछि महानगरले भत्काएको थियो। सो स्थानमा अहिले अन्तर्राष्ट्रिय झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण गरिएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमी हुन नदिइने प्रतिबद्धता जनाए। उनले पोखराको विकासको समग्र विकासको खाका तयार भइरहेको उल्लेख गरे।

उनले भने, ‘महानगरका प्रमुखको नेतृत्वमा पोखरामा उल्लेख्य विकास निर्माणका काम भइरहेको र त्यसको रिजल्ट क्रमशः देख्न पाइन्छ। पोखरामा धेरै काम भएका छन् र समग्र विकासको खाका बनेको छ।’

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लामो समयको प्रतीक्षापछि पोखरा घरको शिलान्यास गरिएको बताउँदै दीर्घकालीन विकासको सोचअनुरूप विकास निर्माणको काम अगाडि बढेको बताए।

यसैगरी, महानगरपालिकाको सातौं स्थापना दिवसका अवसरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ। स्वास्थ्य महाशाखाको संयोजनमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक एवं जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिए।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरीले रक्तदान गरे।