१० करोड लागतको पुल अलपत्र

१० करोड लागतको पुल अलपत्र


नवलपरासी ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ जोड्ने खजुरा खोलामाथि निर्माणाधीन पुलको काम बन्द भएको छ ।

करिब १० करोड रुपैयाँको लागतमा निर्माणाधीन उक्त पुलको भुक्तानी लामो समयसम्म नपाएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प बनाएपछि निर्माणको काम अलपत्र भएको हो ।

निर्माण व्यवसायीले अहिलेसम्म काम गरेबापत पाउनुपर्ने एक करोड १० लाख रुपैयाँमध्ये हालसम्म १६ लाख रुपैयाँ मात्र भुक्तानी दिइएको बर्दघाट नगरपालिकाले जनाएको छ ।

पाउनुपर्ने बाँकी रकम नपाएको भन्दै निर्माण व्यवसायीले काम नगर्ने भन्दै काम ठप्प परेका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । “रकम भुक्तानीका लागि केही महिनाअघि अर्थ मन्त्रालयमा सिफारिस गरेर पठाएका थियौँ”, उनले भने, “अहिलेसम्म रकम नआएपछि व्यवसायीले काम रोको छ ।”

वर्षायाममा खोला तर्न कठिन हुँदा बर्दघाटसँगै छिमेकी पालिका सुस्ता र प्रतापपुरका स्थानीय लामो दूरी भएर आवतजावत गर्नुपर्ने बाध्यतालाई हटाउन खोलामा पुल निर्माणको योजना परेको थियो ।

सम्झौतापछिको लामो समयसम्म निर्माण कम्पनीले काम बन्द गरेपछि नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासनले प्रहरीमार्फत निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम सुरु गराएको थियो । विसं २०७७ मा श्रीमती सञ्जीवनी निर्माण सेवाले नौ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता गरेको हो ।