निर्माणाधीन सिटीहलको दोस्रोपटक समय थप गरिँदै

निर्माणाधीन सिटीहलको दोस्रोपटक समय थप गरिँदै


चितवन ।

भरतपुर महानगरपालिका–१० जिल्ला समन्वय समिति नजिकै निर्माण सुरु गरिएको सिटीहल निर्माणका लागि पहिलोपटक थप गरिएको समय सकिएको छ ।

पहिलोपटक थप गरिएको समय यही फागुन १६ गते सकिएको हो । दोस्रोपटक समय थपका लागि पत्राचार गरिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी इ दोर्ण कटुवालका अनुसार विसं २०७७ मङ्सिर १८ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।

सम्झौताअनुसार विसं २०७९ फागुन १७ गते हल निर्माणकोे काम सम्पन्न हुनुपर्नेमा पहिलोपटक थप गरिएको समयसम्म पनि काम सम्पन्न हुन नसकेको हो ।

उनले भने, “अहिलेसम्म निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ, अब समय थपका लागि प्रक्रिया अघि बढेको छ ।” बाइपास सडकसँगै चार बिगाहा चार कट्ठा जमिनमा सिटी हल निर्माणको काम भइरहेको छ । निर्माणका क्रममा रहेको हलमा अहिले ट्रष्ट हाल्ने, भित्री भागको रङ्गरोगन, बिजुली, पानी जडान गर्नेलगायत काम भइरहेको उनले बताए ।

सिटी हलको मुख्य हलमा राखिने ट्रष्टको नक्साङ्कन परिवर्तन हुदाँ समस्या भएको उनले जानकारी दिए । अहिले नक्साङ्कन परिवर्तन भएपछि हलमा ट्रष्ट हाल्ने कामसमेत सुरु गरिएको उनले बताए । उनले भने, “हल निर्माणका लागि पर्याप्त बजेट नभए पनि अहिले नै काम रोकिने अवस्थामा छैन ।”

आयोजनाले थप बजेटका लागि विभागमा पत्राचार गरेको उनले जानकारी दिए । बहुवर्षीय आयोजनाअन्तर्गत काम भइरहेको उनले बताए । अहिले भित्री संरचनाको नक्साङ्कन ‘रिभ्यू’को काम भइरहेको उनले बताए । सिटी हल निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक रु ७७ करोड ७७ लाखमा इन्डो सगुन रौताहा जेभीले ठेक्का सम्झौता गरेको छ ।

सिटी हलमा मुख्य ‘अडिटोरियम ब्लक’मा दुई हजार मान्छे अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ । सँगै तीन सय क्षमताको ‘कन्फ्रेन्स हल’ रहने छभने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुई भर्‍याङ र दुई लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज र रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक छ हजार पाँच सय वर्गमिटरमा हुनेछ ।