ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै काठमाडौँ महानगर

ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै काठमाडौँ महानगर

चाबहिलकाे नाम अब 'चावहीः'


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । प्रक्रियाको थालनीमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरुसँग नाम पुष्टि गर्ने चरण पूरा गरेको छ । यो कामको प्रारम्भ ५ वटा वडाबाट भएको छ ।

वडा नं ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं ६ बौद्ध (प्राचीन नाम खस्योर र खास्ती), वडा नं ७ चाबहिल (प्राचीन नाम चावहीः) वडा नं १८ नरदेवी (प्राचीन नाम ङेतः) वडा नं २४ मखन (प्राचीन नाम मखं)भित्रका विभिन्न ठाउँको नाम खोजी भइसकेको छ ।

खोज कार्यबाट नर नरः (हाँडीगाउँ)मा ५२ वटा, खस्योर-खास्ती (बौद्ध) मा ५० वटा, चाबही (चावहिल) मा ७१ वटा, ङेत (नरदेवी) मा ३६ वटा र मखं (मखन) मा ४९ वटा नाम अभिलेखन गरिएको छ । यी नामहरु अब प्रचलनमा ल्याइनेछन् ।

ठाउँको पुरानो नाम खोज्नु पर्ने कारणका बारेमा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, ‘सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिदै गयो । काठमाडौँको पहिचान जोगाउन कार्यक्रम अगाडि बढाइएको हो ।’

नाम पुनरुत्थानका सम्भावित चुनौतीका विषयमा थप्दै संगतले भने, ‘प्रचलनमा ल्याउन लागिएका नाम र अहिले प्रचलनमा रहेका नामका बिचमा भिन्नता हुन सक्छ । यी दुई नाममध्ये प्राचीन नामलाई ग्रहण गर्न स्थानीय समुदायसँग अनुरोध गर्दछु । प्राचीन नामले सांस्कृतिक सहरको मर्म ग्रहण गर्छन् । पहिचान संरक्षण हुन्छ । काठमाडौँको गरिमा यसैमा छ ।’

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र (सीआइयुडी) सँगको सहकार्यका विभिन्न स्थानहरुको प्राचीन नाम अध्ययन गरेको हो । अध्ययनमा संकलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात, संस्कृतिविद, इतिहासविद, पुरातत्वविद, स्थानीय पाका मानिस, जनप्रतिनिधिहरुसँग सोधेर प्रशोधन गरेको छ ।

अध्ययनका लागि स्थलगत अवलोकन भ्रमण र अन्तरवार्ताका क्रममा यही विषयमा अध्ययन गरिरहेका अन्य पक्षसँग पनि भेट भएको थियो । ती अनुसन्धाताबाट प्राप्त सूचना र जानकारीका आधारमा नामहरु वास्तविकता पहिचान गरिएको छ । अध्ययन सहकार्य र यसबाट प्राप्त सूचनाको आधिकारिकताका विषयमा सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिइन् । केन्द्रले ३ वटा ढाँचामा प्रतिवेदन बुझाएको छ ।

‘ठाउँहरुको मौलिक नाम ७० वर्ष उमेर माथिका व्यक्तिहरुले मात्र उच्चारण गर्ने गरेको पाइयो । त्यसभन्दा तल्लो उमेर समूहका मानिसहरु अहिलेको नाम उच्चारण गर्छन्,’ सीआइयुडीका कार्यक्रम प्रबन्धक यशमान बज्राचार्यले भने, ‘वडा नं १८ मा पर्ने नरदेवीका रुपमा प्रयोग गरिने नामलाई रैथाने मूलबासीहरु अहिले पनि ङेतत्वाः भन्छन् । यो स्थानको मौलिक नाम भने ङ्ततोल हो । यो शब्द व्युत्पत्ति भएर ङ्त भयो ।’ नाम अपभ्रंश भएर हुने क्रमले मौलिक नामको स्वरुप परिवर्तन भएको भाषाविद शरदवीर कसाःले बताए । यस्ता विभिन्न कारणले अर्कै स्वरुपमा पुगेका नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपी, देवनागरिक लिपी र अंग्रेजी भाषा नाम पाटी राखिनेछ ।