विद्यार्थीलाई कानुन पढाउन ‘प्रशिक्षक प्रशिक्षण’ गर्दै डिएलए नेपाल

विद्यार्थीलाई कानुन पढाउन ‘प्रशिक्षक प्रशिक्षण’ गर्दै डिएलए नेपाल


काठमाडौँ ।

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनका विषयमा जानकारी गराउने उद्देश्यका साथ ड्यामोक्र्याटिक लयर्स एसाेसिएसन नेपाल (डिएलए)ले प्रशिक्षकहरूलाई तालिम दिने भएको छ ।

डिएलए नेपालको आयोजनामा हुन लागेको प्रशिक्षक प्रशिक्षण चैत ४ गते आइतबारदेखि ५ दिनसम्म चल्नेछ ।

देशभरका सामुदायिक विद्यायमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर यस कार्यक्रमको आयोजना गर्न लागिएको डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए ।

प्रशिक्षण कार्यक्रममा ३२ जना कानुन व्यवसायीहरूको सहभागिता रहनेछ । तालिम लिएपछि तिनै प्रशिक्षकहरू देशभरका सामुदायिक विद्यालयहरूमा पुग्नेछन् र कानुनका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनेछन् ।

‘नागरिक भएर गर्नुपर्ने कुराहरू के हुन् ? साइबर ल के हो ? पारिवारिक कानुनले के भन्छ ? बालबालिकाका सबालमा कानुनले के भन्छ ? जस्ता कानुनी विषयका बारेमा विद्यार्थीलाई पढाउन जरुरी छ,’ अध्यक्ष केसीले भने, ‘त्यसैले देशको कानुनको बारेमा विद्यार्थीलाई जानकार गराउन हामीले याे प्रशिक्षण गर्न लागेका हौँ ।’

केसीका अनुसार कानुनसँगै विद्यार्थीहरूलाई ३ तहको सरकार तथा संघीयताका बारेमा पनि जनाकारी गराइनेछ । त्यसैका लागि डिएलए नेपाल अहिले प्रशिक्षकहरू तयार पार्नका लागि प्रशिक्षण गर्ने जुटेको छ ।

पहिलाे चरणमा पाइलट परियाेजनाअन्तर्गत काठमाडाैँका ६६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनबारे कक्षा दिइनेछ भने बिस्तारै देशका ७५३ वटै स्थानीय तहका विद्यालयमा पुग्ने याेजना रहेकाे केसीले बताए ।