पर्यटकीय राजधानी बनेसँगै अब २४सै घण्टा खुला रहन्छ पाेखरा

पर्यटकीय राजधानी बनेसँगै अब २४सै घण्टा खुला रहन्छ पाेखरा


पाेखरा ।

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिएसँगै पर्यटकका लागि पाेखरा अब चाैबिसै घण्टा खुला हुने भएकाे छ ।

सुरुवाती चरणमा पोखरामा मुख्य चोकहरुलाई २४सै घण्टा खुला गर्ने निर्णय भएको छ ।

जसमा महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक नागढुंगाहुँदै मुस्ताङचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४सै घण्डा खुला रहने छ ।

खुला राख्ने क्षेत्रका व्यवसायी र व्यवसायिक फर्मले निश्चित मापदण्ड भने पूरा गर्नुपर्ने शर्त राखिएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पोखरालाई २४सै घण्टा खुला गर्ने निर्णय गरेको थियाे ।

तोकिएको मापदण्ड पूरा गरेका क्षेत्रलाई आइतबारदेखि नै २४सै घण्टा खुला गर्ने निर्णय भएको छ ।

यसका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको सुरक्षा संयन्त्रको बैठकले ४३ वटा मापदण्ड पनि बनाएको छ ।

गत कात्तिकमा उच्च अदालतले लेकसाइडलाई २४ घण्टा नै खोल्न अन्तरिम आदेश दिएको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिदिन आग्रह गर्दै २०७५ सालयता गण्डकी प्रदेश सरकारले दुईपटक र पोखरा महानगरपालिकाले एकपटक संघ सरकारलाई आग्रह गरेका थिए ।

तर, मागअनुसार नभएपछि प्रदेश सरकार र महानगरपालिकाले भव्य कार्यक्रम गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् ।