सुन तस्करी काण्डमा पक्राउ परेका महरालाई सीआईबी पुर्‍याइयो

सुन तस्करी काण्डमा पक्राउ परेका महरालाई सीआईबी पुर्‍याइयो


काठमाडौँ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्‍याइएको छ ।

उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो । रुपन्देहीको भैरहवाबाट सोमबार पक्राउ परेका उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको हाे ।

६० किलो सुन तस्करीमा संलग्न देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले आज बिहान कपिलवस्तुबाट पूर्वसभामुख महरालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

नेता महरालाई कपिलवस्तुबाट अहिले काठमाडौँ ल्याइएको प्रवक्ता ढकालले जानकारी दिए । यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिइ कागज गरी छाडेको थियो ।

यसैबीच सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

उक्त प्रकरणमा उहाँका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् ।