सत्ताकाे आडमा बर्दिबासका भू-माफिया : विद्यालयको १ बिघा जमिनमा लगाइएका ६ सय रूख काटेर साेत्तर पारियाे

सत्ताकाे आडमा बर्दिबासका भू-माफिया : विद्यालयको १ बिघा जमिनमा लगाइएका ६ सय रूख काटेर साेत्तर पारियाे


महोत्तरी ।

महोत्तरीमा सार्वजनिक जग्गा हडप्ने, व्यक्तिका जग्गाहरू आफ्नो नाममा ल्याएर घरवारविहीन बनाउने र वनसमेत अतिक्रमण गरी आफ्नो नाममा बनाएका घटना नौलो होइन ।

तर, बर्दिवासका एक व्यक्तिले भने विद्यालयको सार्वजनिक जग्गा नै अतिक्रमण गरी आफ्नो बनाउने प्रयास गरेको खुलासा भएको छ ।

बर्दिवास-७ स्थित जनहित नन्दलाल माद्यामिक विद्यालयको १ बिघा ५ कठ्ठा ४ धुर जग्गामा लगाइएको झन्डै ६ सय रूख कटान गरी कब्जा गर्ने प्रयास गरेको खुलासा भएको हो ।

गाउँकै बृज बिहारी महतोले जानाजान विद्यालयले लगाएको उक्त भिक्सका रूखहरू कटान गरी बेचबिखन गरेको स्थानीयले बताएका छन् ।

१८ इन्चदेखि ४२ इन्चसम्मका रूख कटान गरी मिथिला नगरपालिकाका एक फर्निचर व्यवसायीलाई बिक्री गरेको फेला परेको छ ।

रातारात विद्यालयको लालपुर्जा रहेको जग्गाका ती रूख कटान गरेर बिक्री गरेपछी स्थानीय आक्रोशित भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व नगरप्रमुख विदुर कार्कीले विद्यालयको जग्गा भन्ने थाहा हुँदाहुँदै विद्यालयले नै लगाएका रूखहरू कटान गर्नु गलत भएको बताए ।

‘आपराधिक मनोवृत्तिका जसले अपराध गरेको भए पनि सजायको भागिदार हुनुपर्छ,’ उनले भने, ‘यो अत्यन्तै खेदपूर्ण घटना घटेको छ ।’

नेपाली कांग्रेस निकट मानिने ती व्यक्ति शक्तिको आडमा परिचालित भएको कतिपयको आरोप छ । वडा-६ का वडाध्यक्ष पदम आलेमगरले नगरले यस्ता व्यक्तिहरूलाई संरक्षित गरी अराजकता मच्चाउन खोजेको बताए ।

वडा-७ का अध्यक्ष भोरिल यादवले पनि विद्यालयको जग्गा जानाजान अतिक्रमण गर्नु गम्भीर अपराध भएको बताउँदै दोषीलाई थप छानबिन गरी कारबाही प्रक्रिया अघि बढउने बताएका छन् ।

यता स्थानीयले भने सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने अडान लिएका छन् ।

यदि दोषीलाई तत्काल कारबाही नभए संघर्षका कार्यक्रम समेत तय गर्ने स्थानीयले चेतावनी दिएका छन् । अभिभावक संघकी सदस्य जुनु यादवलले कारबाहीमा बेवास्ता गरेमा दबाबमूलक कार्यक्रमसमेत गर्ने बताइन् ।

‘आवश्यक परे हामी लोकतान्त्रिक अधिकारको प्रयोग गरी सडक संघर्षसमेत गर्छौँ,’ उनले भनिन्, ‘अपराध गर्नेहरूले उन्मुक्ति पाउन हुँदैन ।’

तर रूख कटान गरी रातारात बेचेको आरोप लागेका वृजबिहारी महतोले उक्त जग्गा आफ्नै भएको दाबी गरेका छन् । वर्षौँदेखि आफैँले जोतभोग गरेको उक्त जग्गामा अहिलेसम्म विद्यालयले दाबी नगरेको बताउँदै उनले बाँकी रूख पनि काटेर बेच्ने चुनौती दिए ।

स्थानीयले लगाएको आरोप निराधार भएको बताउँदै उक्त जग्गा विद्यालयको भए सजाय भोग्न तयार भएको उनको भनाइ छ ।

यसअघि पनि भू-माफियाहरूले बर्दिवासमै चुरेको सामुदायिक जंगल फडानी गरी रातारात लालपुर्जा नै आफ्नो नाममा बनाएका थिए । रम्तेल डाँडाको संरक्षित जंगल फडानी गरी आफ्नो नाममा बनाएको उक्त मुद्दा अझै विचाराधीन छ ।