चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्न ३ प्रतिष्ठानबीच सम्झौता

चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्न ३ प्रतिष्ठानबीच सम्झौता


काठमाडौं ।

चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले तीन प्रतिष्ठानबीच सम्झौता भएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न त्रिपक्षीय सम्झौता भएको हो।

तीनवटै प्रतिष्ठानका सहकुलपति उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिपिकेआईएचएस र न्याम्ससँग, बिपिकेआईएचएसले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बिपिकेआईएचएससँग सम्झौता गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले बताए।

अब तीनवटै प्रतिष्ठानबीच विद्यार्थी तथा अध्यापक आदानप्रदान हुने बताउँदै उनले भने, ‘शैक्षिक कार्यक्रम सञ्चालनका लागि सुगमको तुलनामा दुर्गममा गाह्रो हुन्छ तर काठमाडौँको न्याम्स, धरानको बिपिकेआईएचएसमा जस्तै जुम्लामा पनि अण्डर ग्रेजुएट्स र पोष्ट ग्र्याजुएट्सका कार्यक्रमहरु सञ्चालन गरेका छौं।’

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी शैक्षिक प्रतिष्ठानलाई प्रभावकारी रुपमा अघि बढाउन आपसी सहयोग र सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे। प्रतिष्ठानले स्वास्थ्य शिक्षा र सेवामा पुर्‍याएको योगदानको उनले सराहना गरे।