चक्रपथ सुधार आयोजनाकाे सूचनापाटी चोरी, काठमाडौं महानगरले दियो उजुरी

चक्रपथ सुधार आयोजनाकाे सूचनापाटी चोरी, काठमाडौं महानगरले दियो उजुरी


काठमाडौं ।

चक्रपथ सुधार आयोजनाको दोस्रो फेजको निर्माणको जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनी लेखिएको नोटिस बोर्ड चोरी भएको भन्दै काठमाडौं महानगरपालिकाले जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दिएको छ।

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाडौं जिल्ला प्रहरी परिसरमा मंगलबार निवेदन दर्ता गराएका हुन्।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र समेत रहेको कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएको महानगरमा जनगुनासो आएकाले सूचनापाटी राखिएको महानगरले जनाएको छ।

‘उक्त चक्रपथ सुधार आयोजना अस्तव्यस्त भएबाट महानगरवासीलाई पर्न गएको असुविधा समेतलाई सम्बोधन गर्ने उद्देश्यले कलंकीदेखि बसुन्धरासम्मका नौ स्थानहरूमा काठमाडौं महानगरपालिकाले जनतालाई सु–सूचित गर्ने उद्देश्यले सूचना बोर्ड राखिएको थियो। उक्त सूचना बोर्डमा आयोजनाः चक्रपथ सुधार आयोजनाको दोस्रो फेज (कलंकी–महाराजगञ्ज), चक्रपथ सुधार आयोजनाको निर्माण जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनी समेत उल्लेखित रहेको थियो, सो बोर्डहरू हाल उक्त स्थानहरूमा नरहेकोले चोरी भएको सम्बन्धमा आवश्यक छानबिन/अनुसन्धान गरी दोषी उपर हदैसम्मको कारबाही गरी दिनुहुनु निर्देशानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।

चिनियाँ कम्पनी ‘सांघाई कन्स्ट्रक्सन’ले २०७० सालदेखि काठमाडौंको चक्रपथ विस्तारको काम अघि बढाएको हो।

पहिलो चरणअन्तर्गत कलंकी–कोटेश्वर खण्डको साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ।

तर दोस्रो फेजको काम सुरू नै हुन सकेको छैन।

सरकारी पक्षले प्रभावकारी समन्वय नगरेको निर्माण कम्पनीले बताउँदै आएको छ।

WhatsApp-Image-2024-03-26-at-2.56.19-PM-1711445578.jpeg