कानुनी पेसामा आउन चाहनेलाई डिएलए–नेपालको अभिमुखीकरण

कानुनी पेसामा आउन चाहनेलाई डिएलए–नेपालको अभिमुखीकरण


काठमाडौँ ।

कानुनी पेसामा प्रवेश गर्दै गरेका तथा गर्ने सोच बनाएका कानुनका विद्यार्थीहरूलाई कानुन व्यवसाय तथा यसका सम्भावना तथा चुनौतीका विषयमा जानकारी गराउने उद्देश्यका साथ डेमोक््रयाटिक लयर्स एसोसिएसन नेपाल (डिएलए–नेपाल)ले एक दिने पेसागत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नवआगन्तुकहरूलाई पेसा सुरु गर्दै गर्दा पेसागत संरक्षणका विषयमा जानकारी गराउने मुख्य उद्देश्यका साथ डिएलए–नेपालले यस प्रकारको कार्यक्रम आयोजना गरेको डिएलए–नेपालका केन्द्रीय सदस्य राजकुमार उप्रेतीले जानकारी दिए ।

३१औँ नेपाल कानुन व्यवसायी परिषद्को परिक्षामा उत्तीर्ण भएका ८० भन्दा बढी परीक्षार्थीहरूलाई बधाई तथा शुभकामनासमेत दिएको थियो । साथै, उत्तीर्ण भएका परीक्षार्थीमध्ये उत्कृष्ट १० परीक्षार्थीहरूलाई डिएलए–नेपालले उक्त कार्यक्रममा सम्मानसमेत गरेको छ ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षद्वय हरिहर दाहाल र प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता तथा डिएलए–नेपालका पूर्वअध्यक्ष यदुनाथ खनाल तथा डिएलए–नेपालका वर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सीताराम केसीले कानुनी पेसाका बारेमा जानकारी गराएका थिए ।

कानुनी पेसामा प्रवेश गर्ने सोच बनाएको आफूलाई यस्तो अभिमुखीकरण कार्यक्रमले उल्लेख्य जानकारी दिएको र आउन सक्ने चुनौतीसँग कसरी लड्ने भन्ने बारेमा महत्त्वपूर्ण जानकारी पाएको एक सहभागीले बताए ।

त्यस्तै, केन्द्रीय सदस्य उप्रेतीका अनुसार कानुनी पेसामा आउन चाहनेहरूका लागि कुनै समस्या भएमा वा यस पेसामा प्रवेश पाउनै मुस्किल पर्नेहरूका लागि डिएलए मातहतका स्थापित कानुन व्यवसायीहरूको ल–फर्ममा ‘इन्टर्न’को समेत व्यवस्था गर्नेछ । कानुन व्यवसायीहरूको अभिभावक संस्थाका रूपमा रहेकाले नवआगन्तुक कानुन व्यवसायीहरूका लागि पुलको काम गर्नु डिएलए नेपालको कर्तव्य भएको उप्रेतीले बताए ।

डिएलए नेपालले कानुन व्यवसायीको हकहित तथा संरक्षण र उनीहरूको पेसागत क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।