कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेर हत्या

कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेर हत्या


पाल्पा  । रिब्दीकोटमा १९ वर्षीया एक युवतीको हत्या भएको छ। सिब्दीकोट गाउँपालिका- १ ख्याहा काराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मंगलबार दिउँसो बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो। पद्‍मा मंगलवार दिउँसो घरबाट केही टाढा रहेको सार्वजनिक पँधेरोमा नुहाउन गएकी थिइन्। नुहाउन गएकी छोरी घर फर्किन ढिलो गरेपछि खोजी गर्ने क्रममा मंगलवार साँझ शव फेला परेको आफन्तले बताएका छन्। उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
जिल्ला प्रहरी कार्यालयको टोली भैरहवाबाट लगिएको तालिम प्राप्त कुकुरसहित अहिले घटनास्थलमा पुगेको छ। हामी अहिले घटनास्थलमै छौँ,’ जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुवर्ण श्रेष्ठले  भने, ‘शव रातभर घटनास्थलमै थियो। घटनास्थललाई सुरक्षित राखिएको छ। हामी भर्खरै तालिम प्राप्त कुकुरसहित आएका छौँ।’ अहिले पाल्पाका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्द, डीएसपी श्रेष्ठसहितका प्रहरी अधिकारी घटनास्थलमै छन्। घटनाको हामी सबै कोणबाट अनुसन्धान गर्ने छौँ,’ डीएसपी श्रेष्ठले भने, ‘हत्यारा उम्किँदैन।’ एकान्त ठाउँमा आफूमाथि बलात्कारको प्रयास हुँदा उनले प्रतिकार गर्दा हत्या भएको अनुमान स्थानीयले गरेका छन्। प्रहरीले भने अनुसन्धान पछि मात्रै घटनाको वास्तविकता खुल्ने जनाएको छ।