तारकेश्वरका ११ वटा वडामा ‘न्यायिक मेलमिलाप केन्द्र’स्थापना

तारकेश्वरका ११ वटा वडामा ‘न्यायिक मेलमिलाप केन्द्र’स्थापना


काठमाडौँ ।

काठमाडौँको तारकेश्वर नगरपालिकाको ११ वटा वडामा ‘न्यायिक मेलमिलाप केन्द्र’ स्थापना गरेको छ । नगरपालिका स्थापना भएको सात वर्षपछि तारकेश्वरले आफ्ना जनतालाई घरदैलोमा न्यायिक सेवा प्रदान गर्ने उद्देश्यले ११ वटा वडामा न्यायिक मेलमिलाप केन्द्र स्थापना गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत हालसम्म वडा नं १, २ र ३ मा न्यायिक मेलमिलाप केन्द्र स्थापना भइसकेका छन् । नगरपालिका प्रमुख कृष्णहरि महर्जनले समस्या परेका तारकेश्वरबासीलाई घरदैलोमै न्यायिक सेवा उपलब्ध गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको जानकारी दिए ।

उनले कुनै ठाउँ, जातजाति, लिङ्ग नहेरी समग्र न्यायिक हिसाबले काम गर्न मेलमिलापकर्तालार्ई आग्रह गरेका छन्। “मेलमिलाप गर्ने क्रममा तपार्इंले चिनेजानेका मानिस पनि हुनसक्छन्,” उनले भने, “वादी वा प्रतिवादीको विषयमा निर्णय गर्नुपूर्व उनीहरुले गरेको कुरा न्यायिक छ कि छैन रु त्यो मूल्याङ्कन गर्ने क्षमता तपाईंहरुमा हुनुपर्दछ ।”

नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक सृजना बुर्लाकोटी अर्यालले तारकेश्वरको न्याय सम्पादन चुस्त, दुरुस्त र जनतालाई छरितो रुपमा प्रदान गर्न मेलमिलापकर्ताले काम गर्नुपर्ने बताए । “मेलमिलाप गराउने क्रममा दबाब र प्रभाव आउन सक्छ, निडर भएर काम गर्नुहोस्,” उनले भने।

विसं २०७३ मा स्थापना भएको तारकेश्वर नगरपालिकाको न्यायिक समितिले ११ वटा वडाका उजुरी केन्द्रीकृत गरेर न्यायिक निरुपण गर्दै आए पनि अब वडामै न्यायिक मेलमिलाप केन्द्र स्थापना गरिएको हो । राष्ट्रिय न्यायिक प्रतिष्ठानबाट ४८ घण्टाको तालिम मेलमिलापकर्तालाई दिएर हरेक वडामा मेलमिलाप केन्द्र राख्ने तयारी भएको नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय निकायको उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा अर्धन्यायिक निकायको परिकल्पनासहित न्यायिक समिति गठन गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।