सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसाय, मनग्य आम्दानी

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसाय, मनग्य आम्दानी


काठमाडाैं ।

गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला गाउँपालिका–८ जुम्ला पुरु गाउँका कमल नेपालीलाई आज यो ठाउँमा पुगिन्छ भन्ने पत्तो नै थिएन । माटोका भाँडा बनाएर गाउँगाउँमा बेच्दै हिँड्ने कमलका बुबा पुस्तासम्म समाजबाट हेपिँदै आएको थियो ।

अहिले भने कमलको परिवार त्यो अवस्थाबाट धेरै माथि आइपुगेको छ । यो अवस्थामा आइपुग्नुको जस भने उनी तत्कालीन सशस्त्र युद्धलाई दिन्छन् । माओवादीको सशस्त्र युद्ध चलिरहेको बेला २०५८ मा उनी पूर्णकालीन सदस्य भएर पार्टीमा लागे ।

२०५९ देखि जनमुक्ति सेनामा जोडिएका नेपाली जुम्ला, अर्घाखाँची, बेनी, पाल्पा, बाँकेको कसुम, गणेशपुर, रुकुमको खारालगायत ४३ ठाउँमा लडेका थिए । अर्घाखाँची र खाराको लडाइँमा घाइते भएका उनलाई टाउको र हातमा गोली लागेको थियो । मुलुकमा शान्ति स्थापना भइसकेपछि नेपालीले २०६३–२०६९ सम्म ६ नं डिभिजन सुर्खेतको दशरथपुरमा सेनामा रहेर काम गरे ।

दशरथपुरमा सेनाबाट रु. पाँच लाखसहित स्वेच्छिक अवकाश लिएर बाहिर आएपछि सुरुमा उनले पोल्ट्री फर्म खोले । पछि युवराज प्रकृति अग्र्यानिक खाद्य तथा फलफूल कोसेली अर्डर एन्ड सप्लायर्ससहित खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योग खोलेको उनले बताए । वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत हाम्रो टोलमा रहेको अर्ग्यानिक खाद्य तथा फलफूल सप्लायर्सबाट उनले कर्णालीको अर्ग्यानिक कृषि उपज बिक्री वितरण गरिरहेका छन् ।

‘हामीले जिम्मु, टिमुर, सिमी, जौ तथा मकैको च्याँख्ला, तिल, मसुरोका दाल, चिनो, कागुनोको चामल, काली मार्सी चामल, कर्णालीको सर्वोत्तम पीठो, भुटेको मकैको खाजा, कालो तथा खैरो भट्ट, फापर, कोदो, मकै, मिठे फापरको पीठो, ओखरलगायतका कर्णालीको उत्पादन बिक्री वितरण गर्दै आएका छौँ, बजारको माग बढ्दै जाँदा पुर्याउन मुस्किल भएको छ,’ उनले भने ।

उनले प्रतिकिलोका हिसाबले सिमी दाना रु. दुई सय ५० र दाल रु. तीन सय, टिमुर रु. एक हजार चार सय, ओखर रु एक हजार, जिम्मु रु. चार हजार, घोडो मच्चो रु छ सय, स्याउको चाना रु. एक हजार दुई सय, मार्सी चामल प्याकेजिङ रु. दुई सय ४०, कालो भट्ट रु. एक सय ५०, फापर तीते रु. एक सय ५० र मिठे रु. तीन सय, चिनो, कागुनोको रु. तीन सय, मसुरोका दाल रु. दुई सय, मार्से (लट्टे) रु. एक सय २० र खैरो भट्ट रु. एक सय ४० मा बेच्ने गरेको बताए ।

कर्णालीका १० जिल्लामा उत्पादित रैथानेबालीको संकलन, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ, लेबलिङ र बिक्रीवितरण गर्दै आएको बताएका उनले अर्ग्यानिक कृषि उपजको उत्पादनमा वृद्धि ल्याउनुपर्ने सुझाए । प्रदेश सरकारबाट रु. छ लाख अनुदान सहयोग पाएको जनाउँदै उनले सरकारले कर्णालीमा उत्पादित रैथाने बालीको संरक्षण, प्रवद्र्धन र वृद्धिमा जोड पुग्ने नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनको अनुभूतिअनुसार सस्तो र महङ्गो वस्तु किनेर उपभोग गर्ने दुई प्रकारका उपभोक्ता छन् । महत्व बुझेका उपभोक्ताले अर्ग्यानिक कृषि वस्तु किनेर खान्छन् तर महत्व नबुझेका उपभोक्ताले आयतीत वस्तुलाई नै बढी प्राथमिकता दिने गर्छन् । ‘खाद्य तथा फलफूल किन्दा उपभोक्ता सचेतना निकै ठूलो कुरा रहेछ, अब ‘टल्किने चीज होइन मौलिक, विदेशी होइन स्वदेशी उपज उपभोगमा जोड दिऔँ’ भन्ने बुझाउन जरुरी छ,’ नेपालीले भने ।

करिब एक दशकदेखि व्यवसाय गर्दै आएका नेपालीले मासिक रु. ७० हजार आम्दानी गर्दै आएका छन् । कर्म गरे स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ विश्वासमा अडिग उनीलाई छोराछोरी पढाउन र परिवार पाल्न विदेश जानुपरेको छैन । अग्र्यानिक कृषि वस्तुको उत्पादनमा जोड दिँदै प्रदेश तथा स्थानीय सरकारले नागरिकको खानपिन आदतलाई मौलिक परिवेशमा ढाल्ने कार्यक्रम तर्जुमा गर्न सके यहाँका नागरिकको स्वास्थ्य निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो ।

परिवर्तन र कर्मका निम्ति जस्तोसुकै जोखिम उठाउन तत्पर हुनेहरुले जीवनलाई आत्मनिर्भर बनाउन सक्दा रहेछन् भन्ने अनुभूति बल्ल भइरहेको बताउँदै नेपालीले भने, ‘मलाई राजनीतिक चाप र धक्काले व्यवसाय गर्न उत्प्रेरित गरायो, मनैभित्रबाट उब्जेको विद्रोहले बाँच्नका निम्ति संघर्ष, अन्यायविरुद्ध लड्न र परिवर्तनका निम्ति जोखिम मोल्न सिकायो ।’