मुङखेती गर्ने किसानलाई बीउमा ७५ प्रतिशत अनुदान

मुङखेती गर्ने किसानलाई बीउमा ७५ प्रतिशत अनुदान


गोदावरी ।

धनगढी उपमहानगरपालिकाले मुङखेती विस्तार गर्न किसानलाई बीउमा अनुदान दिएको छ । मुङको बीउमा अनुदान दिएर उत्पादन बढाउने उद्देश्यले किसानलाई अनुदान दिइएको हो ।

गत वर्ष बीउमा शतप्रतिशत अनुदान दिएको उपमहानगरले यस वर्ष ७५ प्रतिशत अनुदान दिएको कृषि शाखाले जनाएको छ । आलु, तोरी र अन्य हिउँदे बाली लगाएको खेतमा मुङखेती गरेर छोटो समयावधिमा लाभ लिन सकिनेछ । धनगढी उपमहानगरपालिकाले मुङखेती प्रवर्द्धन गर्ने नीतिअनुसार यस वर्ष पाँच वडाका किसानलाई मुङखेती गर्न बीउमा अनुदान उपलब्ध गराएको हो ।

उपमहानगरले गत वर्ष कृषि विकास निर्देशनालयबाट प्राप्त बीउ वडा नं ६, ९, १२, १७ र १८ का एक सय ९१ किसानलाई निःशुल्क उपलब्ध गराएको हो । गत वर्ष धनगढीमा किसानले ७५ बिघामा मुङखेती गरेको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए । गत वर्ष धनगढीका एक सय ९१ किसानले ७५ बिघामा मुङखेती गर्दा २० टन उत्पादन भएको उनको भनाइ छ । गत वर्ष निःशुल्क बीउ वितरण गरेको उपमहानगरले यस वर्ष ७५ प्रतिशत अनुदानका लागि पाँच सय ५० किलोग्राम बीउमात्रै किसानलाई बीउ वितरण गरिएको जनाइएको छ ।

उपमहानगरपालिकाभित्र यस वर्ष ३० बिघामा मुङखेती गरिएको छ । मुङखेतीमा राम्रो आम्दानी हुने भए पनि खेती गर्दा हरेक तीन–चार दिनको अन्तरमा कोसा टिप्नुपर्ने, समयसमयमा सिँचाइ गर्नुपर्ने भएकाले झन्झटिलो मानेर किसानले रुचि नदेखाएको कृषि शाखा प्रमुख उपाध्यायले बताए । गहुँ काटेपछि खाली रहेको जमिनमा मुङखेती गरेर किसानले लाभ लिने उपाध्यायले जनाए ।

धनगढीका सबै वडामा मुङखेती गर्न सकिने भए पनि हरेक तीन–चार दिनमा कोसा टिप्नुपर्ने, सिँचाइ गर्नुपर्ने भएकाले झन्झटिलो मानेर किसान मुङखेतीतर्फ आकर्षण बढ्न नसकेको जनाइएको छ । गत वर्ष किसानले उत्पादन गरेको मुङ १ सय २० किलोग्रामका दरले बिक्री गरेको उपमहानगरपालिकाले जनाएको छ ।