म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण

म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण


म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण भएको छ ।

गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताए ।

‘उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाहे भएको थियो,’ उनले भने, ‘पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज बनाएको छ ।’ पदमार्ग बनेपछि बिम र डाँडागाउँमा ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

बालबालिका र ज्येष्ठ नागरिकलाई आवतजावत र हिँडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा बिनियोजन गरेको ३० लाख बजेटबाट पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष शरणकुमार जुग्जालीले बताए ।

‘बिम तल्लो गाउँमा ४२५ मिटर र डाँडागाउँमा २५० मिटर पदमार्ग बनाएका छौँ,’ उनले भने, ‘तेर्सोमा ढुङ्गा बिछ्याएर र उकालोमा सिँढी चिनेर ढलान गरिएको छ ।’ १ दशमलव १० मिटरदेखि १ दशमलव २० मिटर फराकिलो पदमार्ग निर्माण भएको छ । पदमार्गमा मोटरसाइकल र साइकल पनि हिँडाउन सकिन्छ ।

माटे पदमार्गमा बर्सात हुँदा हिलो र सुक्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाइ गर्न सहज भएको छ । बिम र डाँडागाउँ धार्मिक पर्यटकी स्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ती हुन् । मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजन बसोबास गर्ने बिम र डाँडगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

सरसफाइमा नमूना बनाउने उद्देश्यले गाउँभित्रको पैदलमार्गलाई पक्की बनाउन बजेट बिनियोजन गरेको स्थानीयवासीसमेत रहेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।

प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहनुभएका जुग्जालीले खारा–बिम सडक स्तरोन्नतिका लागि २० करोड बजेट स्रोत सुनिश्चितता भएको र सो योजनाबाट बिम र गाउँगाउँको बस्तीभित्रको सडकलाई कालोपत्र गरिने बताए ।