जनक शिक्षाको खजुरास्थित छापाखाना अलपत्र, सञ्चालनमा ल्याउन १० करोड आवश्यक

जनक शिक्षाको खजुरास्थित छापाखाना अलपत्र, सञ्चालनमा ल्याउन १० करोड आवश्यक


बाँके ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकेको खजुरामा स्थापना गरेको छापाखाना लामो समयदेखि अलपत्र परेको छ । कर्णालीका विभिन्न जिल्लासँगै दुर्गममा पाठ्यपुस्तक वितरण गर्ने उद्देश्यले सरकारले २०६२ सालमा सो छापाखाना स्थापना गरे पनि सञ्चालन हुन नसक्दा छापाखानाका भौतिक पूर्वाधार खण्डहरमा परिणत हुन थालेका छन् ।

करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले २०६२ सालमा छापाखाना भवन र त्यसलगत्तै थप दुईवटा भवन निर्माण गरेको थियो । छापाखाना र गोदाम निर्माण भवन अहिले प्रयोगविहीन अवस्थामा जीर्ण बन्दै गएका छन् । छापाखाना सञ्चालनमा नआउँदा हरेक वर्ष शैक्षिक सत्रमा पाठ्यपुस्तक खपत गर्न कठिनाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड नेपालगञ्जका प्रमुख होमराज ढुङ्गेलले बताए ।

उनले सरकारबाट बजेट पाए खजुरामा रहेको छापाखाना चलाउन सकिने उल्लेख गरे । खजुरामा छापाखाना चलाउन सकिए लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका डिपोमा कम खर्च र समयमै पाठ्यपुस्तक ढुवानी गर्न सकिने उनको भनाइ छ ।

उनका अनुसार छापाखाना सञ्चालनका लागि विद्युत्लगायत सबै पूर्वाधार तयार भए पनि केन्द्रीय योजना नबनेका कारण सञ्चालन हुनसकेको छैन । केन्द्रको नेपालगञ्ज कार्यालयले बाँके, बर्दिया, दाङ, सल्यान, पूर्वी रुकुम, प्यूठान, हुम्ला र डोल्पा गरी आठ जिल्लामा पाठ्यपुस्तक पठाउँदै आएको छ । खजुराको छापाखाना सञ्चालनमा आए लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक पर्ने पुस्तक यहीँबाट छपाइ गरी पठाउन सकिन्छ ।

छापाखाना सञ्चालनको लागि फोर–कलर मेसिन खरिद, पर्खाल निर्माणलगायत पूर्वाधार निर्माण गर्न करिब रु १० करोड बजेट आवश्यक पर्ने उनको भनाइ छ । खजुरास्थित छापाखाना तत्काल सञ्चालनमा ल्याए पाठ्यपुस्तक अभाव समस्या समाधान गर्न सकिने उनले बताए ।

खजुराबासीले पटक–पटक जनक शिक्षा सामग्री केन्द्रको छापाखाना सञ्चालनको माग गर्दै आएका छन् । छापाखाना सञ्चालन हुँदा एक सयभन्दा बढीलाई रोजगारी दिनसक्ने क्षमता छ । विगतमा छापाखाना सञ्चालनको लागि पटक–पटक माग गरिएको खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

“विकेन्द्रिकरणको सिद्धान्तलाई आत्मसाथ गर्न सके दुई महिनाभित्र छापाखाना सञ्चालन गर्न सकिन्छ”, खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष कक्षपतिले भने । काठमाडौँमा छापेका पाठ्यपुस्तक हरेक वर्ष लाखौँ रकम खर्चेर नेपालगञ्ज ल्याइ बाँकेसहित बर्दिया, दाङ, सल्यान, प्यूठान, पूर्वीरुकुम, हुम्ला, डोल्पालगायत जिल्लामा पाठ्यपुस्तक वितरण गर्दै आएको छ ।