काठमाडौँ महानगरमा चैत्र २५ गतेदेखि गरिब घरपरिवार गणना हुने

काठमाडौँ महानगरमा चैत्र २५ गतेदेखि गरिब घरपरिवार गणना हुने


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाभित्र चैत २५ (२०८०) देखि गरिब घरपरिवार गणना सुरु हुने भएको छ । गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि तालिम सुरु भएको छ ।

४ दिने तालिममध्ये पहिलो २ दिन सैद्धान्तिक र पछिल्ला २ दिन प्रयोगात्मक हुनेछन् । सैद्धान्तिक कक्षामा गरिबी, गरिब परिचय पत्र, विवरण संकलन र परिचय पत्रको कानुनी पक्ष र प्राविधिक कक्षामा ट््यावको प्रयोग गरेर अनलाइन प्रणालीमा आधारित विवरण संकलन, भण्डारण गर्न र सम्बन्धित अधिकारीको पहुँचमा पठाउने विधि सिकाइनेछ । प्रशिक्षणका लागि महानगरपालिकाले चैत ८ गतेदेखि १२ गतेसम्म २६ जना अधिकारीहरुलाई प्रशिक्षण दिएर प्रशिक्षकका रुपमा उत्पादन गरेको छ ।

कसरी छानिए गणक र सुपरिवेक्षक ?

ट्याब्लेटबाट विवरण संकलन हुने यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रुपमा काम गर्ने जनशक्ति प्राप्त गर्न महानगरपालिकाले गएको मंसिर १६ गते सार्वजनिक सूचना प्रकाशन गर्‍यो । अनलाइन प्रणालीबाट आवेदन लिएको यस कार्यक्रभमा गणकका लागि ८ हजार २८ जना र सुपरिवेक्षकका लागि २ हजार ६६५ जनाको आवेदन प्राप्त भएको थियो । आवेदकमध्येबाट योग्यताका आधारमा सर्टलिष्टमा छानिनुभएका उम्मेदवारको सूची, माघ १४ गते प्रकाशन गरिएको थियो । त्यही महिनाको २१ गतेदेखि २४ गतेसम्म लिइएको अन्तर्वार्ताबाट फागुन १७ गते योग्यता क्रमको अन्तिम नतिजा प्रकाशन गरिएको थियो । यसबाट २१ जना सुपरिवेक्षक र २०९ जना गणक छानिएका छन् ।

तथ्याङ्क अधिकृत कृष्णराज तिवारीकाअनुसार जनगणना २०७८ ले महानगरपालिकाभित्र देखाएको घरपरिवार संख्या (२ लाख ३८ हजार ९६६) लाई वडागत रुपमा हेरेर गणक र सुपरिवेक्षक खटाउने तयारी छ । १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइनेछ ।

यसमा सबैभन्दा धेरै वडा नं. १६ र ३२ गरी २ वटा वडामा २१/२१ जना खटिनेछ । तिवारीकाअनुसार वडा नं. ६ र ३१ मा १४/१४ जना, वडा नं. १५ मा १२ जना, वडा नं. १४ मा ११ जना, ४ र ७ मा १०/१० जना जनशक्ति परिचालन हुनेछन् ।

यस्तै वडा नं. २६ र १३ मा ९/९ जना, वडा नं. ३, ९ र १० गरी ३ वटा वडामा ८/८ जना जनशक्ति खटिनेछन् । वडा नं. २९ मा ६ जना, वडा नं. १७ र ३० मा ५/५ जना, वडा नं. ५ मा ४ जना, वडा नं. २, ११, २१ र २८ मा ३/३ जना खटिनेछन् । वडा नं. ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २/२ जना खटिनेछन् । वडा नं. १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १/१ जना जनशक्ति खटिनेछन् । तिवारीले गणना योजना सुनाउनुभयो । गणकहरुबाट प्राप्त भएको विवरण सुपरिवेक्षकले प्रशोधन गर्ने काम गर्नेछन् ।

काठमाडौँसँगै देशभरिको गणना सकिँदै

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौँ महानगरपालिका गणनाका लागि अन्तिम पालिका हो । यसपछि तथ्याङ्क संकलनको काम सकिनेछ ।

तथ्याङ्क संकलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको हो । हरेक ५ बर्षमा परिचय पत्र नविकरण गराउनु पर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म कसैको पनि परिचय पत्र नविकरण गरिएको छैन । सहसचिव सापकोटाका अनुसार यसपछि सबै विवरण अद्यावधिक हुनेछ ।

गरिब परिवारलाई सरकारबाट प्रदान गरिने सुविधा तथा सहयोग अब यसै परिचय पत्रका आधारमा हुनेछ । दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने सुविधा यही परिचय पत्रका आधारमा हुनेछ ।