सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी, मुख्यालय सुरक्षित

सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी, मुख्यालय सुरक्षित


काठमाडौं । बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा एक घण्टादेखि भीषण आगलागी भएको छ। सोमबार साँझ उक्त सशस्त्र प्रहरी अस्पतालनजिकै रहेको केन्द्रीय गोदाममा आगलागी भएको हो। आगलागीपछि घटनास्थलबाट ठूलो मात्रामा धुवाँ फैलिएको छ। उक्त आगलागी विद्युत् सर्ट भएको अनुमान गरिएको छ। अहिले त्यहाँ आगो नियन्त्रणका लागि उपत्यकाका ७ वटा दमकल खटिएका छन्

अग्निनियन्त्रकको ठूलो टोली पनि तैनाथ छ। दमकलसँगै दर्जनौँ पानी बोक्ने ट्यांकरलाई पनि आगो नियन्त्रणका लागि लगाइएको छ। आगलागी भएको सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा देशभरका ब्यारेकमा पठाइने जिन्सी सामान राखिएको थियो। उक्त स्टोरमा जिन्सी सामान मात्रै भएकाले सशस्त्र प्रहरीका कागजपत्र जोगिएका छन्। सशस्त्र प्रहरीका कारोबार र खरिदका सबै कागजपत्र हलचोकस्थित मुख्यालयमा सुरक्षित छन्। सशस्त्र प्रहरीले यहाँ लत्ता कपडा, जुत्ता, मण्डी, म्याट्रेस र चुस्तासहितका सामान राखेको थियो। स्टोरका लागि मात्रै प्रयोग गरिने यो ठाउँमा सामान निकाल्दा मात्रै खोलिन्थ्यो। आगलागीबाट भित्र रहेका अधिकांश सामान जलेका छन्। सशस्त्र प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन।