बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा

बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं ।

सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई ५ करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ बिगो दाबी गर्दै आज मुद्दा दायर गरेको हो ।

२०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधिमा उनको कुल वैध आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ देखिए पनि १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ ।

सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ । माओवादीका थापा २०७९ मा पनि दाेस्राे कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए ।