महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका


बागलुङ ।

जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले छ वटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो ।

गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिलाले झोला, सल, सुइटर, टोपी बनाएका छन् । महिला कल्याण आमा समूहमा आबद्ध भएर उनीहरू उद्यममा लागेका हुन् ।

गाउँपालिकाले दिएको तालिमले आफूहरूको दैनिकी बदलिएको स्थानीय जुनुमाया घर्ती मगरले बताइन् । बिहान बेलुका घरको काम धन्दा गर्ने र दिउँसो कपडा बुन्ने गरेको उनी सुनाउँछिन् । उनले भनिन्,’एक्लैभन्दा समूहमा काम गर्दा फाइदा हुन्छ । अहिले गाउँका दिदीबहिनी मिलेर उद्यम गरेका छौं, हाम्रो आर्थिक अवस्थामा सुधार आएको छ, सेवाग्राहीको मागअनुसार उत्पादन पनि बढाएका छौं ।’

वडा नम्बर- २ को लघुउद्यमी महिला समूहले झोला उत्पादन गर्दै आएको छ । वडा नम्बर ५ को खुङ्खानीका महिला समूहले सिस्नोको पाउडर, बोङगाखानी लघुउद्यम आमा समूहले भेडाको ऊनबाट काम्लो उत्पादन गरी बजारीकरण गर्दै आएको छ ।

वडा नम्बर १ को सिर्जनशील लघुउद्यमी समूहले साबुन सरफलगायत सामग्री उत्पादन गर्दै आएको छ । स्थानीय स्रोत साधानको प्रयोगबाट आफूहरू उद्यममा लागेको माया विकले बताइन् । विगतमा घाँस-दाउरा र पशुपालनमा व्यस्त माया अहिले साबुन उत्पादनमा तल्लीन छिन् ।

महिलाले उत्पादन गरेका सामग्री प्रवद्धनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताएका छन् । गाउँपालिकाले वडा नम्बर ३ मा महिला उद्यमीका लागि भवन निर्माण गरिसकेको भन्दै उनीहरुले उत्पादन गरेको खादा, दोसल्लालगायत सामग्री गाउँपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रयोग हुने गरेको उनले जानकारी दिए । उत्पादित सामग्री बजारसम्म पुर्याउन ढुवानीको व्यवस्था गरिएको उनी बताउँछन् ।

साथै, सीपले गाउँका महिलाहरूलाई आत्मनिर्भर बनाएको समेत उनी सुनाउँछन् । ‘दिदीबहिनीलाई आत्मनिर्भर बनाउन सीप सिकाउनेदेखि उद्यम गर्न सहयोग गर्दै आएका थियौं, अब उहाँहरुले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न पनि साथ दिन्छौं, सीपले उहाँहरुलाई आत्मनिर्भर बनाएको छ,’ अध्यक्ष बुढामगरले भने ।