बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ


काभ्रे ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ५ नागवेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त)को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागवेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको प्रहरीले जनाएको छ।

फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो। उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु। तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताए। उनका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झन्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो।

मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौंको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ। अन्य दुईजनाको म्याद थप गरी थप अनुसन्धान थालिनेछ।

प्रहरीका अनुसार रुखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो। उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजंग गणले निष्क्रिय पारेको थियो। घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठजनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेका छन्। उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो। रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुन सक्ने प्रहरीको अनुमान छ। बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्व छ।