काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानमा जनतासँग प्रत्यक्ष संवाद, जनजीविकाका समस्या सङ्कलन, संगठन विस्तार र पार्टी रूपान्तरणलाई प्राथमिकता दिइने भएको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको अपिलअनुसार अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र टोलसम्म पुगेर जनतासँग संवाद गरिनेछ ।
अभियानमा किसान, मजदुर, श्रमजीवी, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक समुदाय, बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा उद्यमी–व्यवसायीसँग प्रत्यक्ष छलफल गरिने पार्टीले जनाएको छ ।
जनताले भोगिरहेका महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गरिनेछ ।
जनताबाट प्राप्त गुनासा, सुझाव र आलोचनालाई अभिलेखबद्ध गरी समाधानका लागि स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्याइनेछ । आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र बुझाउने र समस्या समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने योजना पनि पार्टीले अघि सारेको छ ।
अभियानको अर्को उद्देश्य पार्टी संगठनलाई विस्तार र सुदृढ बनाउनु रहेको छ । यस क्रममा सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गरिनेछ । पार्टी तथा जनसंगठनका बैठक, भेला, प्रशिक्षण र अन्य कार्यक्रमसमेत सञ्चालन गरिने अपिलमा उल्लेख छ ।
त्यसैगरी, पार्टीलाई जनमुखी बनाउने, नेता तथा कार्यकर्तालाई जनताप्रति थप उत्तरदायी बनाउने र विगतका गल्ती तथा कमजोरीको समीक्षा गर्दै रूपान्तरणको प्रक्रिया अघि बढाउने लक्ष्य राखिएको छ । जिल्ला, पालिका, वडा र टोलका स्थानीय विशेषताअनुसार श्रम तथा उत्पादनका गतिविधिमार्फत जनतासँग जोडिने र सामूहिकताको अभ्यास गर्ने विषयलाई पनि प्राथमिकता दिइने पार्टीले जनाएको छ ।
अभियानमार्फत राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र नागरिक अधिकारको संरक्षण, महँगी तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र जनजीविकाका समस्या समाधानका लागि राज्यलाई जिम्मेवार बनाउन पहल गरिनेछ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, राष्ट्रिय पुँजीको विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत समाजवादको आधार तयार पार्ने विषयलाई पनि अभियानको उद्देश्यमा समेटिएको छ ।
यसैगरी, बाढीपहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइने अपिलमा उल्लेख छ ।
पार्टीले अभियानलाई संगठन विस्तारमा मात्र सीमित नराखी जनताका वास्तविक समस्या पहिचान गर्ने, समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा अघि बढाउने जनाएको छ ।
अभियानमा सहभागी हुन प्रचण्डले आम जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेसागत समुदाय तथा निजी क्षेत्रलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया