धनगढीमाईका शिक्षकले ९ महिनादेखि पाएनन् तलब

धनगढीमाईका शिक्षकले ९ महिनादेखि पाएनन् तलब


सिरहा ।

सिरहाको धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरुले ९ महिनादेखि तलब पाउन सकेका छैनन्। आन्तरिक स्रोतको कमी र कर्मचारी र जनप्रतिनिधिहरुको आन्तरिक समस्याका कारण करिव २० जना शिक्षकहरुले तलब भत्ता पाउन नसकेका हुन्।

नगरपालिका अन्र्तगत निजी स्रोतमा सञ्चालित माध्यमिक विद्यालय र आधारभुत विद्यालयका शिक्षकले करिव एक वर्षदेखि नगरपालिकाले तलव भत्ता नपठाएको प्रधानाध्यापकहरुको गुनासो छ। उनीहरुले करिब एक वर्षबाट सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलव नआएको गुनासो गरे।

आधारभुत विद्यालय, धनगढीमाई १३ कैलाशपुर भर्लेनीका प्रधानाध्यापक अमर कुमार योञ्जनले आफ्ना विद्यालयमा कार्यरत दुई जना शिक्षकको तलव भत्ताबापत रकम एक वर्षदेखि विद्यालयको खातामा नआएको बताए। उनले भने, ‘उहाँहरुको तलव भत्ता एक वर्षदेखि आएको छैन, हामीले विद्यालयको स्रोतबाट थोरै पेश्की दिएका छौं।’

जनता आधारभुत विद्यालय, धनगढीमाई १ बाखैरका प्रधानाध्यापक विनोद कुमार साहले पनि निजी स्रोतका शिक्षकको तलवभत्ता नगरपालिकाले यस आर्थिक वर्षमा एकपटकपनि नपठाएको बताए। उनले भने, ‘सशर्त शिक्षण अनुदान र वडा कार्यालयको अनुदानका दुईजना शिक्षकको तलव पालिकाले निकाशा दिएका छैन। हामीले शिक्षकहरुलाई विद्यालयको आन्तरिक कोषबाट तलव दिईरहेका छौं। पालिकाले पनि अव चाँडै पठाउने भनेको छ।’

‘सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलव भत्ताबापतको रकम लामो समयदेखि गएको छैन; शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिनारायण सिंहले भने, ‘मैले निजी स्रोत र सशर्त शिक्षण अनुदानमा कार्यरत शिक्षकहरुको तलवभत्ताको सम्पूर्ण कागजात लेखा शाखामा बुझाई सकेको छु, केहिदिन अघिसम्म सो रकम गएको छैन भन्ने जानकारी छ। तर, हिजो आज गएको भए मलाई जानकारी भएन, म आज विदामा छु।’

नगरक्षेत्रभित्र ७ जना कम्पूटर शिक्षकसहित करिव २० जना निजी स्रोतमा कार्यरत शिक्षकलाई पछिल्लो नौं महिनादेखि नगरपालिकाले तलव भत्ता पठाएका छैनन्।

लेखा अधिकृत पुरुषोतम कुमार प्रसादले आन्तरिक स्रोतबाट तलव व्यवस्थापन गर्नुपर्ने शिक्षकहरुको तलव सुवुधा जान सकेको थिएन, भर्खरै बजेट संशोधन गरीएको छ। अव कार्यालय प्रमुख आउनेदिनै पाउनु पर्ने सवै विद्यालयमा रकम जान्छ।’

‘पहिला स्रोत व्यवस्थापन हुन सकिरहेको थिएन, स्रोत व्यवस्थापन  भईसकेपछि कार्यालय प्रमुख सरुवा भएर जाने र आउने प्रकृया हुन थालेकाले ढिलो भएको हो अव चाँडै जानुपर्ने सवैको सेवा सुविधा जान्छ।’ लेखा अधिकृत प्रसादले भने। अधिकृत प्रसादले भने, ‘अहिले म पनि विदामा छु, हाकीमसाव पनि विदामा भएकाले कार्यालय प्रमुख आएकैदिन रकम जान्छ।’

नगर प्रमुख शिवशंकर महतोले ‘मैले जानकारी पाएसम्म सवै शिक्षक कर्मचारीको तलव चैत मसान्त सम्मको गई सकेको हुनुपर्छ। निजी स्रोतकाहरुको पनि दशैंसम्मको तलव खाएको छ। नगएको भए तत्काल पठाउन लाउँछु।’ उनले यो प्रशासनको काम भएकाले पनि आफूलाई सवै जानकारी नहुने बताए ।

धनगढीमाई नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरुको लापरवाहीले कारारका कर्मचारी तथा स्थानिय सेवाग्राहीहरुलाईपनि सास्ती खेप्नु परेको स्थानियहरु बताउछन्।