बनेपामा फिल्म स्टुडियो सुरु गरिने

बनेपामा फिल्म स्टुडियो सुरु गरिने


काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियोको निर्माण सुरु गरिने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ । यीसहितका कार्यक्रम कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट विनियोजन गरिने अर्थमन्त्री पुनले घोषणा गरेका छन् ।

बनेपामा स्टुडियो बनाउन हालै जिल्ला वन कार्यालयले चलचित्र विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरेको छ । दोलखामा फिल्म सिटी बनाउन बैशाख महिनामा सम्पन्न लगानी सम्मेलनमा यो परियोजना शो–केसमा राखिएको थियो ।

फिल्म सिटीका लागि मौरिसस र चिनियाँ लगानीकर्ताले चासो देखाएका छन् ।