प्रधानमन्त्रीले विराटनगरबाट उद्घाटन गरे श्रमाधान रोजगार मेला

प्रधानमन्त्रीले विराटनगरबाट उद्घाटन गरे श्रमाधान रोजगार मेला


विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ गरेका छन् । प्रधानमन्त्रीले विराटनगरबाट सातै प्रदेशमा लाग्ने श्रमाधान रोजगार मेलाको उद्घाटन गरेका हुन् ।

रोजगार मेला’रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्न सक्ने आयोजकले जनाएको छ ।

मेलामा कोशी प्रदेशका ५० भन्दा उद्योगी व्यवसायीले स्टल नै राखेर रोजगारीका लागि आवेदन आह्वान गरेका छन् ।

रोजगारीको खोजीमा रहेकाहरूले सीप, क्षमता र योग्यताअनुसारको जागिरका लागि प्रस्ताव गर्न र जागिर प्राप्त गर्न मेला प्रभावकारी हुन आयोजकले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले मेलाको संयोजन गरेको छ । उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मेलाले रोजगार खोज्ने र कामदार खोज्नेलाई पुलको काम गर्ने बताए ।

उनले प्रदेशकै करिब ७० प्रतिशत उद्योग व्यवसाय भएको विराटनगरमा आयोजित मेला रोजगारी खोजी गरिरहेका जनशक्ति र श्रमिक खोजी गर्ने उद्यमीहरूबिचको संगमस्थल बन्ने बताए । श्रम रोजगार तथा सामाजिक मन्त्रालयको आयोजनामा मेला आयोजना गरिएको हो ।

मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी कार्यक्रम, रेमी परियोजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल सङ्घ नेपाललगायतले स्टल राखेका छन् ।

श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्यालले कोशी प्रदेशबाट सुरू भएको श्रमाधान रोजगार मेला अरु सबै प्रदेशमा आयोजना गर्ने जानकारी दिए । श्रमाधान रोजगार मेलाले दिने नतिजा सरकारका लागि महत्वपूर्ण हुने भन्दै उनले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने, विदेशबाट फर्किएका नागरिकहरुलाई स्वदेशमा सीपयुक्त बनाउने माध्यम र सुझावका लागि मेला आयोजना गरिएको बताए ।

सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । हरेक प्रदेशमा दुई/दुई दिन हुने मेला कोशी प्रदेशको विराटनगरमा सुरू भएर जेठ ३० गते बागमतीको ललितपुरमा सकिने छ ।

मेला कोशी प्रदेशको विराटनगरमा आज र भोलि, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते सञ्चालन गरिने छ ।