आगामी वर्ष निर्माण थाल्ने घोषणा गरेको बूढीगण्डकीमा ‘शून्य’ बजेट

आगामी वर्ष निर्माण थाल्ने घोषणा गरेको बूढीगण्डकीमा ‘शून्य’ बजेट


काठमाडौं । सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्ष २०८१/८२ मा निर्माण सुरु गर्ने घोषणा गरेको बूढीगण्डकी जलाशययुक्त आयोजनामा बजेट भने शून्य राखिएको छ ।

व्यय अनुमानको विवरण समेटिने दस्तावेज (रातो किताब) अनुसार आगामी आर्थिक वर्षका लागि यो आयोजनाले कुनै पनि रकम पाएको छैन ।

आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ३३ करोड ८१ लाख रुपैयाँ खर्च भएको यो आयोजनामा चालु आर्थिक वर्ष २०८०/८१ मा समेत कुनै रकम राखिएको छैन ।

रकम नराखे पनि सरकारले बजेटमार्फत निर्माणको घोषणा गर्न भने यस पटक पनि बिर्सिएको छैन ।

नेपाल सरकारले लगानीको मोडालिटी तय नहुँदै आयोजनालाई बजेटमा राख्ने र हचुवामा बजेट भाषणमा घोषणा गर्ने परिपाटीका कारण एउटै आयोजनाको नाम हरेक बजेट भाषणमा दोहोरिने गरेको छ ।

बजेटमा अर्थमन्त्री वर्षमान पुनले सुक्खायामको मागलाई पूर्ति गर्न १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त आयोजनाको निर्माण सुरु गरिने घोषणा गरेका थिए ।

यसबाहेक उनले ६ सय ७० मेगावाट क्षमताको दुधकोसी र ४ सय १७ मेगावाट क्षमताको नलसिंहगाड जलाशययुक्त जलविद्युत् आयोजना समेत निर्माण सुरु गर्ने घोषणा गरेका छन् ।

सरकारले आगामी वर्ष थप ९ सय मेगावाट विद्युत् उत्पादन भई नेपालमा विद्युत् उत्पादन क्षमता ४ हजार ५ सय पुग्ने समेत दाबी गरेको छ । यसै वर्षबाट बंगलादेशमा समेत विद्युत् निर्यात थाल्ने योजना छ ।