केदार कार्कीले बुझाए मुख्यमन्त्री निवासको चाबी

केदार कार्कीले बुझाए मुख्यमन्त्री निवासको चाबी


विराटनगर । पदमुक्त भएको २२ दिनपछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवासको चाबी बुझाएका छन् ।

२६ वैशाखमा पदमुक्त भएका कार्कीले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर निवासको तालाचाबी बुझाएका हुन् ।

पूर्वमुख्यमन्त्री कार्कीले निजी सचिव दिवस राजवंशीमार्फत निवास र तीन वटा सवारीको तालाचाबी बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ । २७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्की २६ चैतमा अल्पमतमा परेका थिए ।

विश्वासको मत परीक्षण नगरेपछि २६ वैशाखमा प्रदेश प्रमुखले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

पदमुक्त भएका कार्कीले आफ्नो निरन्तरता र नयाँ मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिट विचाराधीन छ ।

शुक्रबार पूर्व मुख्यमन्त्रीले तालाचाबी बुझाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका कर्मचारी निवास पुगेका थिए । निवास भद्रगोल अवस्थामा रहेको सचिवालयले बताएको छ ।

‘२२ दिनसम्म बन्द राखेको निवासको हालत भद्रगोल छ ,’ मुख्यमन्त्री सचिवालयले भन्यो, ‘जताततै फोहोरै फोहोर छ, सफा गर्न २–३ दिन लाग्छ ।’

काठमाडौंस्थित सरकारी निवासको चाबी भने सुरक्षा गार्डलाई बुझाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।